जुम्ला— जुम्लामा मात्र उत्पादन हुने मार्सीधान रोप्न यतिबेला किसानलाई भ्याइनभ्याइ छ । जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सीधानको पर्यटकीय प्रवर्द्धन गर्नका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ ।


ADVERTISEMENT


कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सीधानको बीउ रोपी महोत्सवको शुभारम्भ गरे । पछिल्लो समयमा मार्सीधानमा रोगको संक्रमण बढेको जनाउँदै किसानले धान रोप्न छोडेका थिए ।


ADVERTISEMENT

# # #


स्थानीयवासी मुनबहादुर ऐडीले पछिल्लो समय मार्सी धानको उत्पादनमा लाग्न किसानलाई थप हौसला बढेको बताए । जुम्लाबाट उत्पादन हुने हरेक अर्गानिक फलफूललाई बजारीकरण गर्नदेखि छुमचौरमा उत्पादन हुने काली मार्सी धानलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारको कृषि मन्त्रालयले आवश्यक सहयोग गर्न भएको छ ।

मार्सी धानको चामल विश्व बजारसम्म सहजरुपमा पुर्‍याउनका लागि प्रदेश सकारले संघीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने कृषिमन्त्री शर्माले जानकारी दिए । नेपाली बजारमा पछिल्लो समयमा मार्सी चामलको माग अत्यधिक हुने गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटनलाई सिधै छुमचौरमै ल्याउन सके अझै यहाँको मार्सी धान चामलको बजार मूल्य बढ्ने भएकाले प्रदेश सरकारले छुमचौरलाई विशेष प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ ।

समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराले बताए ।