काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण लागि आगामी बुधबार थाइल्यान्डको राजधानी बैङ्कक जाने तयारी गरिरहेका छन् । एघार वर्ष अघि बैङ्ककस्थित अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका अध्यक्ष ओलीले त्यसपछि नियमित परीक्षण गराइरहेका छन् ।


ADVERTISEMENT


केही दिनदेखि पेटको गड्बडीले अस्वस्थ भएका ओलीको स्वास्थ्यमा क्रमशः सुधार भएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले स्वास्थ्य परीक्षणका लागि ओली बैङ्कक जान लागेको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


पुस २६ गते बुधबार जाने तय भएको हो, तर टिकटलगायतका प्रक्रिया भइनसकेको अधिकारीले बताएका छन् । अध्यक्ष ओली उपचारपछि स्वदेश फर्किन करिब पाँच दिन लाग्ने छ ।

रोग प्रतिरोधी क्षमतामा ह्रास आएपछि अध्यक्ष ओलीलाई यसअघि फङ्गस इन्फेक्सन भई हत्केला सुन्निने समस्या देखिएको थियो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार ओलीले कार्यतालिकाअनुसार नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।

तर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका कारण उनको कार्यतालिकाअनुसार परीक्षण गर्ने समय पाएका छैनन् । अध्यक्ष ओली बैङ्कक जानुअघि नेकपा माओवादी केन्द्रका अध्यक्षसँग पार्टी एकताका विषयमा छलफल गर्ने योजना बनाएका उनको सचिवालयले जनाएको छ ।

सरकार गठन प्रक्रिया लम्बिने भएपछि यही समयमा नियमित स्वास्थ्य परीक्षण गराउने र पार्टी एकताको विषयलाई अगाडि बढाउने तयारीमा अध्यक्ष ओली पुगेका छन् ।

दुई अध्यक्षबीच भेटवार्ता भएर आधारभूत विषयमा सहमति बनेपछि बाँकी काम पार्टी एकता संयोजन समितिले गर्ने स्रोतले बताएको छ । दुई अध्यक्षको व्यवस्थापनको विषयलाई पहिलो चरणमा सल्टाएपछि बाँकी वरिष्ठ नेताहरू तथा दुवै दलका नेताहरूको व्यवस्थापनको खाका एकता संयोजन समितिले तयार गर्ने बताइएको छ ।

केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार चितवनबाट फर्केलगत्तै दुवै अध्यक्षबीच छलफल हुनसक्ने सचिवालयले जानकारी गराएको छ ।