काठमाडौं-विप्लव समूहको दबाबमा ट्याम्के-मैयुङ गाउँपालिकामा एउटा पनि ठेक्का परेको छैन । विप्लव समूहले ठेक्काको आधा हिस्सा मागेपछि उक्त प्रस्तावअनुरूप गाउँपालिकामा एउटा पनि आवेदन नपरेको हो ।


ADVERTISEMENT


गाउँपालिकाले मंसिर २० गते सूचना प्रकाशन गरी सडक निर्माण अनि त्यसको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको थियो । पुस २१ गतेको म्यादभित्र एउटा पनि आवदेन नपरेको गाउँपालिका अध्यक्ष धुव्रराज राईले बताए ।


ADVERTISEMENT

# # #


‘उहाँहरूले सडक र त्यसको स्तरोन्नतिको ठेक्कामा आधा हिस्सा माग्नुभयो’, अध्यक्ष राईले भने, ‘हामीले एक महिना अवधि राखी बोलपत्र माग गरेका थियौं तर कुनै बोलपत्र पेस भएन ।’

जिल्लाभित्र र बाहिरका ३२ वटा फर्मले आवेदन फारम खरिद गरेर लगेका थिए । बोलपत्र पेस गर्ने क्रममा विप्लवका तर्फबाट आधा काम माग्दै प्रस्ताव गाउँपालिकामा आएको र व्यवसायीले प्रस्तावमा सहमति जनाउन नसकेको निर्माण व्यवसायी संघ भोजपुरका अध्यक्ष धर्मराज राईले बताए ।

उक्त प्रस्तावअनुसार समूहको ठेक्कामा अधिकार पनि नहुने भएकाले बोलपत्र पेस नगरेको राईको भनाइ छ । प्रक्रियागत प्रतिस्पर्धामार्फत विकास निर्माणमा सहभागिताका लागि काम गर्ने वातावरण बनाउन संघले सरोकारवाला निकायलाई आग्रह गरेको छ ।