काठमाडौं-कक्षा ११ को परीक्षा सकिएको ७ महिना बित्न लाग्दा पनि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणालीको टुंगो लगाउन नसक्दा कक्षा ११ को परीक्षाफल प्रकाशन हुन सकेको छैन ।


ADVERTISEMENT


बर्सेनि परीक्षापछि लामो समय नतिजा प्रकाशन गर्न नसकेको आरोप खेप्दै आएको परीक्षा बोर्ड यसपटक ग्रेडिङ प्रणालीबारे अध्ययन गर्न नसकेकाले विवादमा परेको छ । बोर्डको परीक्षा शाखाबाट नतिजा प्रकाशनको सबै तयारी भए पनि कुन प्रणालीको ग्रेडिङका आधारमा नतिजा निकाल्ने निर्णय गर्न नसक्दा नतिजा प्रकाशन अनिश्चित बनेको हो ।


ADVERTISEMENT

# # #


कक्षा ११ को परीक्षा गत असार पहिलो साता सकिएको थियो । बोर्डले परीक्षा भएको ७ महिना बित्न लाग्दा कुन ग्रेडिङ प्रणाली अपनाउने ठोस निर्णय गर्न सकेको छैन । एसईईले अपनाइरहेको शैली अनुशरण गर्ने कि अर्को शैली अपनाउने बोर्डले पाठ्यक्रम विकास केन्द्र, निजी शिक्षण संस्था सञ्चालक र अन्य सरोकारवाला निकायसँग अझै छलफल गरिरहेको छ ।

२ वर्षयता ९ तहमा वर्गीकरण गरेर अधिकतम ४ जीपीए (ग्रेड प्वाइन्ट एभरेज) मा एसईईको नतिजा प्रकाशन हुँदै आएको छ । एसईई प्रणालीमा अधिकतम अंक ल्याउनेलाई ‘ए प्लस’ दिइन्छ भने यसलाई जीपीएमा ४ मानिन्छ । यसभन्दा तल्लो ग्रेडमा जीपीए ४ बाट शून्य दशमलव ४ प्वाइन्टका दरले घटाउँदै अंक दिने व्यवस्था छ।

तर परीक्षा बोर्डले भने यो प्रणाली पनि वैज्ञानिक नभएको तर्क गर्दै जीपीए ४ बाट घटाउँदै तल्लो तहकालाई ३ दशमलव ९ हुँदै प्रत्येक तल्लो तहकालाई शून्य दशमलव १ प्वाइन्टका दरले घटाएर अंक दिन सकिने विकल्प अघि सारेको छ । तर यसको पनि टुंगो लागेको छैन ।

बोर्डमा शुक्रबार आयोजित छलफलमा सहभागी पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रिले भने, ‘धेरै विकल्पमा छलफल भयो। तर कुनै विकल्पमा निष्कर्ष भएको छैन। यसबारे बोर्डका अधिकारीले जति गृहकार्य गर्नुपर्ने हो त्यति गरेको देखिएन ।’

संविधानले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानेको र छिट्टै कक्षा १ देखि १२ सम्मको पाठ्यक्रमको फ्रेमवर्क एउटै हुने भएकाले यस तहमा अपनाइने ग्रेडिङ प्रणाली पनि एउटै हुनुपर्ने कतिपयको तर्क छ । ग्रेडिङबारे सुझाव समेत दिने निकाय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक काप्रिले भने, ‘ग्रेडिङ भन्ने कुरा वर्षैपिच्छे परिवर्तन गर्ने कुरा होइन। व्यावहारिक आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास पनि हेरेर कार्यान्वयनमा ल्याउनुपर्छ।’

परीक्षा बोर्डका अध्यक्ष प्रा डा. चन्द्रमणि पौडेलले भने, ‘पुरानो (एसईईमा अपनाइएको शैली) मा केही परिवर्तन गर्न सकिन्छ कि भनेर छलफल गरिएको हो । परिवर्तन गर्ने निर्णय हुन सकेन भने पुरानै शैलीअनुसार नतिजा सार्वजनिक गर्छौं।’ उनका अनुसार एक साताभित्र कुन ग्रेडिङ प्रणाली अपनाउने निर्णय हुनेछ । ग्रेडिङ प्रणालीको निर्णय भएपछि रिजल्ट सिट निर्माणलगायत कामका लागि थप ४/५ दिन लाग्ने परीक्षा नियन्त्रक डम्बर बतासले बताए ।