काठमाडौँ – सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ५८ अर्व ९८ करोड रुपैया विनियोजन गरेको छ ।
सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाप्रकाश शरण महतले कृषि उत्पादन बढाउन प्रोत्साहन गर्ने र यस क्षेत्रलाई अघि बढाउनका लागि उक्त बजेट बिनियोजन गरिएको जानकारी दिए । उनले धान र आलू खेतीलाई विस्तार गर्नका लागि र आवश्यक अनुदान उपलव्ध गराईने बताए ।
किसानलाई रासायनिक मल खरिदका लागि अनुदान दिन ३० अर्ब रुपैयाँ बिनियोजन गरिएको र रैथानेमा गर्व गरौं भन्ने नाराका साथ रैथाने बालीको बिउ संरक्षण गरिने उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ३ अर्ब २२ करोड रुपैयाँ बिनियोजन गरिएको र उत्पादन साथमा अनुदान हातमा नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उनले बताए । त्यस्तै उनले औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उनले बताए ।
उनले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने बताए ।