काठमाडौं-डेटाको प्रयोग गरेर सेवा उपलब्ध गराइ रहेका म्यासेन्जर, भाइबर, ह्वाट्स एप जस्ता ‘ओभर दी टप (ओटीटी)’ एप्सका कारण नेपालका दूरसञ्चार सेवा प्रदायकले अर्बौं घाटा व्यहोर्नु परेको छ । निःशुल्क प्रयोग गर्न सकिने यस्ता ओटीटी सेवा प्रदायकले खास गरी दूरसञ्चार कम्पनीले विदेशबाट हुने कलवापत प्राप्त गर्ने आम्दानीमा नोक्सानी पु¥याएका हुन् ।


ADVERTISEMENT


नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दूरसञ्चार कम्पनीले हालै उपलब्ध गराएको गत आर्थिक वर्षको वित्तीय विवरणमा अन्तर्राष्ट्रिय कलवापतको आम्दानी करिब छ अर्ब बढी रुपियाँले घटेको छ ।


ADVERTISEMENT

# # #


सरकारी लगानीको नेपाल टेलिकमले गत आवमा अन्तर्राष्ट्रिय कलवापत नौ अर्ब तिन करोड १२ लाख रुपियाँ आम्दानी प्राप्त गरेको थियो । यो रकम अघिल्लो आर्थिक वर्ष २०७२/७३ को तुलनामा दुई अर्ब १२ करोड ७५ लाख रुपियाँले कम हो । सो आवमा कम्पनीले ११ अर्ब ४३ करोड ९५ लाख रुपियाँ यही शीर्षकमा आम्दानी गरेको थियो ।

‘आम्दानी घट्नुको मुख्य कारण ओटीटी नै हो’ कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले भनिन् ‘यो हाम्रोमा मात्र हैन । विश्वव्यापी रुपमै ओटीटीका कारण सेवा प्रदायकले घाटा व्यहोरेका छन्’ । उनका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घट्दा पनि अन्तर्राष्ट्रिय कलवापतको आम्दानी केही प्रभावित भएको छ । डेटा प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि ओटीटीको प्रयोग पनि बढ्दा अन्तर्राष्ट्रिय कल घटेको उनको तर्क रहेको छ ।

ओटीटीले आम्दानी घटेको देखिए पनि डेटाको प्रयोग बढ्दा कम्पनीको समग्र आम्दानीमा भने तुलनात्मक फरक नपरेको पनि उनले बताइन् । प्राधिकरणमा कम्पनीले बुझाएको वित्तीय विवरणमा गत आर्थिक वर्षमा कुल आम्दानी ४० अर्ब ३४ करोड ६८ लाख रुपियाँ थियो । त्यसअघिको आवमा कम्पनीको आम्दानी ४० अर्ब ७० करोड रुपियाँ पुगेको थियो ।

निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलको अन्तर्राष्ट्रिय कल बापतको आम्दानी पनि व्यापक घटेको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७२/७३ मा २१ अर्ब ५१ करोड १० लाख रुपियाँ अन्र्तराष्ट्रिय कलबाट आम्दानी प्राप्त गरेको कम्पनीले गत आवमा यही शीर्षकमा १७ अर्ब ९६ लाख रुपियाँमात्र आम्दानी गरेको छ । यस हिसाबले कम्पनीले एक बर्षमै चार अर्ब रुपियाँभन्दा बढी गुमाएको छ ।

कम्पनीको कुल आम्दानी गत आवमा ५६ अर्ब ९४ करोड ७१ लाख रुपियाँ पुगेको छ । त्यसको अघिल्लो आवमा यो रकम ५७ अर्ब ७२ करोड ५ लाख रुपियाँ थियो । ओटीटीसहित नेपालबाट विदेश जाने कल शुल्क घट्दा पनि अन्तर्राष्ट्रिय कल घटेको कम्पनीले जनाएको छ ।

प्रमुख दूरसञ्चार सेवा प्रदायकका रुपमा रहेका टेलिकम र एनसेलको प्रमुख आम्दानी मध्य अन्तर्राष्ट्रिय कल पनि हो । नेपालमा ओटीटी भ्वाइस एप्सका रुपमा म्यासेन्जर र भाइबर बढी प्रचलित छन् । यसबाहेक ह्वाट्स एप प्रयोगकर्ताको सङ्ख्या पनि बढ्दो छ ।

अन्तर्राष्ट्रिय स्तरमै ओटीटीका कारण आम्दानीमा असर बढिरहेकोले त्यसको प्रभाव नेपालमा पनि देखिएको प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले बताएका छन् । ‘विश्वकै ठूला सेवा प्रदायकका लागि पनि यो समस्याको विषय बनि रहेको छ’ उनले भने ‘कतिपयले ओटीटीलाई नियमन गर्ने प्रयास गरिरहेका छन् । हामीले अहिलेसम्म सहजै प्रयोग गर्न दिएको अवस्था छ’ ।

लन्डनमा रहेको विश्लेषक कम्पनी ओभुमले गरेको एक अध्ययन अनुसार सन् २०१२ देखि २०१८ सम्म ओटीटीका कारण विश्वभरका दूरसञ्चार सेवा प्रदायकले तिन सय ८६ खर्ब रुपियाँभन्दा बढी घाटा व्यहोर्ने छन् ।