काठमाडौं-वायु प्रदूषण न्यूनीकरण गर्न धुवाँ फाल्ने गाडीलाई उपत्यका प्रवेशमा रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी वैशाखदेखि प्रदूषण मापदण्ड पालना नगर्ने सवारीसाधनलाई उपत्यका प्रवेशमै रोक लगाउने तयारी थालेको हो ।


ADVERTISEMENT


उपत्यका प्रवेशका सबै नाकामा प्रदूषण मापदण्ड जाँच गरी फेल हुने सवारीलाई प्रवेश गर्न नदिने तयारी विभागले थालेको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले प्रदूषित सवारीलाई नियमित मर्मत गरेर उपत्यका प्रवेश गराउनुपर्ने सुझाव दिए । चोर पसिसकेपछि प्रहरीलाई खोज्न लगाउनुभन्दा चोर पस्नै नदिने गरी काम गर्नु आवश्यक रहेको भन्दै तत्काल सफा र सुन्दर सहर बनाउन विभाग लाग्नुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


उपत्यकाको प्रदूषण नियन्त्रण र अनुगमन कडाइसाथ लागू गर्न पुराना र फोहोर गाडी प्रवेशमा रोक लगाउन लागिएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए । ‘प्रदूषण टेस्ट गर्ने सातवटा सेट मेसिन खरिदको प्रक्रिया अघि बढिसकेको छ । मेसिन आएलगत्तै सबै नाकामा नियमित चेकजाँच गरिने र प्रदूषितलाई उपत्यका छिर्न रोक लगाइनेछ’, उनले भने ।

प्रधानमन्त्री कार्यालयको पहलमा द्रुत एक्सन टिम गठन गरी एक महिनायता देखि उपत्यकामा धेरै धुवाँ फाल्ने र पुराना सवारीमाथि कारबाही तीव्र बनाइएको छ । टोलीले ३ सयभन्दा धेरै सवारीको जाँच गरी कारबाहीका लागि विभाग पठाएको छ ।

उपत्यकामा धेरै धुवाँ फाल्ने पुराना सवारीकै कारण भएको निष्कर्ष विभागले निकालेको छ भने ३६ प्रतिशत वायु प्रदूषण सवारीबाट निस्कने धुवाँकै कारण हुने गरेको छ । चारपांग्रे सवारीले ६ महिनामा सवारी जाँचपास र वर्षमा एक पटक वातावरण मैत्री सवारीका लागि परीक्षण गराई हरियो स्टिकर लिनुपर्छ ।

विभागको कमजोर नियमन र चेकजाँचका कारण प्रदूषित गाडी संख्या थपिएको छ । विभागको तथ्यांकअनुसार देशभर गुड्ने कुल २७ लाख सवारीमध्ये ११ लाख काठमाडौं उपत्यकामै गुड्छन् । उपत्यकामा गुड्नेमध्ये ७० प्रतिशत सवारीले प्रदूषण गरिरहेको वातावरणविद्को आरोप छ ।

विभागले सवारी परीक्षण कार्यालय टेकुमा स्थापना गरेको ४ वर्ष बिते पनि अहिलेसम्म प्रदूषण परीक्षण गरेको छैन ।

६ करोड रुपैयाँ लगानीमा नेपालमै पहिलो सवारी जाँच मेसिनसहितको केन्द्र स्थापना भए पनि यातायात व्यवस्था विभागको लापरबाहीले गर्दा मेसिन जडान गरेदेखि नै सञ्चालन हुन नसक्दा प्रदूषण परीक्षण हुन नसकेको हो ।