काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माणाधिन नयाँ संसद भवनको निर्माणको गति बढाउन निर्देशन दिएका छन् ।
बिहीबार सिदरबारमा निर्माणाधिन नयाँ संसद भवनको स्थलगत निरिक्षण गर्दै सभामुख घिमिरेले निर्माणको गति निकै सुस्त भएको र यसले थप भार पर्न जाने भन्दै निर्माणको गति बढाउन निर्देशन दिएका हुन् । निरीक्षणका क्रममा निर्माण पक्षले नयाँ संसद भवनको ६३ प्रतिशत काम सकिएको जानकारी गराएको थियो ।
सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माणको काम हुन नसकेको भन्दै निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन दिए । संसद भवन निर्माणका क्रममा केहि समस्या देखिए संसद सचिवालय र आफुले समन्वयकारी भूमिका निर्वाह गर्ने उनले प्रतिबद्वता जनाए । आफुले संसद भवन निर्माणको कामलाई कार्ययोजनाकै रुपमा फलोअप गर्ने उनको भनाई छ ।
सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक संसद भवन निर्माण भइरहेको छ ।