प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला भारत भ्रमणका रहेका छन् । त्यसक्रममा उनले बिहीबार भारतसँग विभिन्न ७ क्षेत्रमा सहमति र सम्झौता गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण र ती सहमति-सम्झौताको विषयमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्वअध्यक्ष तथा सार्क च्याम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालसँग गरिएको कुराकानीः


ADVERTISEMENT


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई यहाँले कसरी लिनुभएको छ ?


ADVERTISEMENT

# # #


प्रधानमन्त्री भएपछि आफ्ना छिमेकी मुलुकको भ्रमणमा जाने, समकक्षीसंग बसेर छलफल गर्ने र दुई देशका सम्भावनाहरुलाई अघि बढाउने कुरा नियमित प्रक्रिया नै हो । प्रधानमन्त्री अहिले भारत भ्रमणको क्रममा हुनुहुन्छ । बिहानसम्म धेरै मिडियाबाट टिकाटिप्पणाी पनि भएका थिए । भारतले यी कुरालाई नकारेर कुनै पनि सम्झौता हुँदैन भन्ने कुरा भइरहेको अवस्थामा जब नेपाल–भारत प्रधानमन्त्रीबीच वार्ता भएपछि केही सम्झौता गरिएका बुँदाहरु बाहिर आएका छन् । ती कुरालाई हेर्दा सकारात्मक ढंगले यी समस्याहरुलाई अगाडि बढाउन सफल भएकोजस्तो मलाई लागेको छ । जस्तोः लुम्बिनीको गौतमबुद्ध विमानस्थललाई भारतले अहिलेसम्म रुट दिएन र त्यहाँ नियमित हवाई उडान सम्भव छैन भन्ने कुराहरु आइरहेको बेला एयरपोर्टको लागि पनि भारतले रुट दिन सकारात्मक भएको छ । जुन ठूलो उपलब्धि भएको छ ।

अर्को कुरा पेट्रोलियम पदार्थको ढुवानीका लागि भारतको सिलीगुँडीदेखि पूर्वमा मेची(झापा)सम्म र यता अमलेन्जगञ्जदेखि चितवनसम्म अर्बौं खर्च गरेर त्यसका लागि भारतले बिल्डिङ र पाइपलाइन गरिदिने र आन्तरिक व्यवस्थापन नेपालले गर्ने भन्ने कुराहरु आइरहेका छन् । त्यो पनि धेरै ठूलो उपलब्धि हो भन्ने मलाई लागेको छ । किनकी अहिले हामीले पेट्रोलिय पदार्थमा भएको चुहावट र ढुवानी खर्च विशाल थियो। यसले वास्तवमा पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्न ठूलो भूमिका खेल्छ भने अर्कोतर्फ एउटा ठूलो पूर्वाधार विकास हुनसक्छ ।

अब तल्लो अरुणमा पीपीपी  भएको छ । यसपछि नेपालले झण्डै १४० मेगावाट निःशुल्क बिजुली पाउने भन्ने कुरा पनि निकै नै सकरात्मक रहेको छ । यसअघि नेपालले भारतलाई बिक्री गर्दै आएको विद्युत् छोटो समयका लागि भएकोले नेपालले विद्युतमा दीर्घकालीन सम्झौता गर्न खोज्दै आएको थियो । त्यो पनि सफल भएको छ । यसले नेपालमा विद्युत प्रवर्द्धन तथा नयाँ लगानी आकर्षण गरी निजी क्षेत्रलाई पनि जलविद्युतमा लगानी गर्नका लागि सुनिश्चितताका लागि पनि मार्ग निर्देशन गरेको मैंले महसुस गरेको छु ।

अर्को कुरा भारतले बंगलादेशलाई पनि बिजुली बिक्री गर्नका लागि भारतको पूर्वाधार र भू–भाग प्रयोग गर्न दिने सहमति जनाएको कुरा पनि नेपालको निम्ति राम्रो उपलब्धि हो । संगै अन्तरदेशीय भुक्तानी प्रणााली सम्झौताले पनि विद्यार्थी तथा औषधोपचार गर्न जाने समूह, नेपालमा भारतीय पर्यटक आउँदा उनीहरुको निम्ति सहज बाटो खुलेको छ । विभिन्न बोर्डरहरुलमा ठूला रकम बोकेर आउन नपाउने कुराहरु बाहिरिरहेको बेला यो प्रबन्धले पर्यटन क्षेत्रका साथै भारतमा जाने नेपालीहरुको लागि पनि ठगी हुने समस्यालाई यसले समाधान गरेको छ ।

यस्तै, नेपालबाट सिधै जलमार्ग जाने बाटो र बंगलादेशको बन्दरगाहलाई प्रयोग गर्नका लागि पनि नेपाललाई सहजता भएको छ । निर्यात र आयातका लागि निकै ठूलो सघाउ हुन्छ भन्ने लागेको छ । यस्तै, भारतबाट कार्गो ट्रेनको सुरुवात भएको छ । त्यो पनि ठूलो कुरा हो । र, महत्वपूर्ण पक्ष सीमा क्षेत्रको विषयलाई लिएर दुई देशबीच देखिएको असमझदारी र एक किसिमको जुन तिक्तता थियो । त्यसलाई रिभ्यू गरेर नेपालको सीमा क्षेत्रका समस्या समाधान गर्ने कुरामा हामी सहमति छौँ भन्ने कुरा भारतीय प्रधानमन्त्री मोदीले प्रस्ट गर्नुभएको छ ।

अब उहाँको भ्रमण सकिएपछि दुई देशबीच ‘जोइन्ट कम्युनीकेसन’ हुन्छ । अब त्यो जोइन्ट कम्युनीकेसनमा के–के कुराहरु पर्छन् ? त्यसपछि अझैँ कुराहरु प्रस्ट हुन सक्छन् । तर, अहिले सात बुँदे हस्ताक्षर गरेर केही नेपालीले ‘कन्सर्न’ गरेको कुराहरु र केही पार्टीबाट पनि आएका कुराहरु प्रधानमन्त्रीको भ्रमणजस्ता जे कुराहरु गरिएका थिए ती सबै होइन भन्ने कुरा सात बुँदे सम्झौता हस्ताक्षर पत्रले प्रमाणित गरेको छ । र, फुकोट भन्ने अल्पपरियोजना पनि अरुण मोडेलबाटै अगाडि बढाइने भन्ने कुराहरु पनि आएका छन् । यसले विशेषगरी कर्णाली प्रदेशको विकासक्रमका लागि र ती क्षेत्रको पूर्वाधार विकासको सम्भावनालाई मूर्त रुप दिने सम्भावनको महसुस मैँले गरेको छु ।

अब भइरहेका यी सबै कुरालाई छिटोभन्दा छिटो कार्यान्वयन पक्षमा लिएर आउने हो भने यो भ्रमणलाई असफल भन्न मिल्दैन । यसले दीर्घकालीन मार्ग निर्देशन गरेको छ । नेपालले उठाएका समसमायिक विषयहरुमा सम्मानीय प्रधानमन्त्रीले आफ्ना समकक्षीसंग धारणा राखेर त्यसलाई मूर्त रुप दिने कुरा मैंले महसुस गरेको छु ।

मुलतः नेपालले भारतसंगको सम्बन्धमा कुन–कुन कुरालाई उठाउँदै के विषयमा सहकार्य गर्दै आफ्ना मुलुकको विकासमा टेवा पुर्याउन सक्छ ? नेपाल–भारत सम्बन्धलाई कसरी फलदायी बनाउन सकिन्छ ?

मैंले अघि भनिहाले अहिले जुन सात बुँदामा हस्ताक्षर भएका छन् । त्यो पनि नेपालको अर्थतन्त्र र सम्भावनालाई अगाडि बढाउने कुरामा सम्झनलायक उपलब्धि हो भन्ने कुरा मैंले ठानेको छु । अब अरु नेपाली उत्पादनलाई बजारले काउन्टर भ्यालु–इन दिने अनि राज्यले बेलाबखतमा कर लगाएर बाधा अड्चन भइरहेका जुन कुराहरु छन्, त्यस्तो हुनुहुँदैन भन्नेजस्ता विषयहरु निरन्तर रुपमा कार्यन्वयनमा आउनुपर्छ । यस्तै नेपालले केन्द्रमा राखेर त्यसलाई नियमितता दिनुपर्ने अवस्था सिर्जना गर्नुपर्छजस्तो मलाई लाग्छ । र, अब अहिले कञ्चनपुरमा तीन वर्षभित्र एउटा औद्योगिक पार्क बनाउने भन्ने कुराहरु पनि आएको छ । त्यसले सूदूरपश्चिममको विकासमा त्यसले ठूलो योगदन दिन सक्छ ।

यसले ती क्षेत्रका सम्भावनाका लागि मात्र नभई त्यहाँका नागरिकको हैसियतदेखि औद्योगिक क्षेत्रको स्थापना, प्रवर्द्धन र सम्भावनालाई अगाडि बढाउने कुरामा यसले ठूलो भूमिका खेल्छ । यस्तै बंगलादेशससँग आयात–निर्यातको लागि बन्दरगाहसम्म जान सक्ने पहुँच, भारतको बाटो हुँदै बंगलादेशलाई बिजुली बेच्न पाउने, गौतम बुद्ध विमानस्थलमा भारतको बाटो गरेर हवाई मार्ग सञ्चलान गर्ने सम्झौताले नेपाललाई फाइदा पुगेको छ । साथै तल्लो अरुणमा ६७९ मेगावाट बिजुलीमा झण्डै २० प्रतिशत नेपालले पाउँदा एउटा ठूलो आम्दानीको स्रोत हुन सक्छ ।

त्योभन्दा पनि नेपालले भारतसंग बिजुली बिक्री गर्ने कुराहरुमा भएको दीर्घकालीन सहमतिले यो क्षेत्रलाई राम्रोसंग अगाडि बढ्नका लागि सम्भावनाका ढोकाहरु खोलेका छन् ।

नेपाल–भारत सम्बन्धलाई व्यापारिक तथा व्यवसायिक रुपमा कसरी अगाडि बढाउन सकिन्छ ?

अहिले जुन यी कुराहरु भएका छन्, समय–समयमा नचिताइएका अवरोधहरु आउँछन्, ती आउनु भएन । नेपालको विकास भारतको लागि पनि एउटा सकरात्मक पक्ष हो । हामीले जुन बेटी–रोटीको कुराहरु गरिरहेका छोँ । हाम्रो संस्कृति, कला, धार्मिक आस्था तथा मौलिकताहरु एउटै भएता पनि जुन रुपमा नेपालले यसबाट फाइदा लिनुपर्थ्यो, त्यो लिन सकिरहेको छैन भने भारतले पनि असहजता महसुस गरिरहेको छ । यी तमाम विषयको सम्बोधन गर्दै हाल भएको सम्झौताहरुलाई कार्यन्वयनमा तुरुन्त लानुपर्छ । साथै नेपालले पर्यावरणको अवस्था हेरेर चुरेको ढुङ्गा गिटी निकास गर्न दिने भन्ने कुरा बजेटमा आएको छ । त्यसका लागि पनि भारतले निकासीको लागि एउटा सहजता अपनाई दिनुपर्यो भन्ने हुन सक्छ ।

शिक्षा, स्वास्थ्यमा नेपालीहरु भारतमा गएर यत्रो ठूलो खर्च गरेका छन् । यसरी नेपालको समृद्धिसंग भारतको पनि आम्दानी जोडिएको छ । यसकारण पनि एकचोटी सिद्धान्त, सहमति भएका कुराहारुलाई तत्काल कार्यन्वयन पक्षमा ल्याएर सानातिना कुराहरुले दुई देशबीचको सम्बन्ध बिगार्नु हुँदैन । सीमाक्षेत्रको समस्याहरु छन्, यसलाई सुधार्छौं भनेका छन् ।

अहिलेको संसार भनेको आर्थिक विकास, रोजगारका अवसर सिर्जना, समृद्धि हुन् । यो चिजहरुमा भारतले एउटा पक्का किसिमको आत्मियता र सद्भाव देखाउनु पर्छ । सद्भाव देखाउने क्रममा यी उपलब्धिले अगाडि बढ्नका लागि एउटा आधार स्थापना गर्छ । जसले गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने मात्रै होइन, नेपालको पनि विकास हुन्छ ।

नेपालले जसरी भारतले पनि नेपाललाई एउटा छिमेकी मुलुक, असल मित्रको रुपमा राजनीतिक तवरबाट जुन किसिमको व्यवहार गरिरहेको छ, यसले भोलि आउने दिनहरुमा अझै आर्थिक विकासका लागि, औद्यागिक क्षेत्रको विकासका लागि, नेपाली वस्तु भारतीय बजारमा निर्यात गर्नका लागि सहज बनाउने लगायतका कुरालाई अझै वृहत् रुपमा अगाडि लैजानुपर्ने हुनसक्छ ।

यसैगरी नेपालको समृद्धि तथा पूर्वाधारसंग भारत खुला हृदयले अघि बढ्नुपर्छ । त्यसैले अहिले गरेको कागजी प्रतिवद्धताभन्दा पनि प्रक्रिया र व्यवस्थापनले नेपालको समृद्धिको ढोका खुल्छ । आफ्नो शान्ति, सुरक्षा र अखण्डताप्रति भारतले नेपालबाट जुन अपेक्षा गरेको छ, त्यसलाई नेपालले उल्लंघन गर्नुहुँदैन । नेपालको भूमि प्रयोग हुन दिनुहुँदैन। त्यो कुराहरुलाई मूर्त रूप दिनका लागि पनि दुवै देश खुला रुपमा प्रस्तुत हुनुपर्छ ।

साथै भारतले नेपालको सानादेखि ठूल्ठूला योजनाहरुमा लगानी गर्नुपर्छ । जसले नेपालको समृद्धिमात्र नभई भारतलाई पनि यसले ठूलो सहयोग पुर्याउँछ र यसका लागि जलविद्युत् एउटा उपयुक्त क्षेत्र पनि हो । नेपाल–भारतमा हवाई होस् या स्थलमार्ग, हामी जति पनि ढोका खोल्दै जान्छौं, त्यति नै पर्यटनको विकास हुनसक्छ । संख्यागत रुपमा भारतका धार्मिक पर्यटक होस् वा अन्य, उनीहरुको अवस्थामा पनि सघाउ हुन सक्छ ।

यद्यपि एउटा विषय छलफल भएन, मैंले धेरै पहिले कुरा उठाएको पनि थिए । भारतले वर्षमा एक महिना त्यहाँका कर्मचारीहरुलाई कतिपय भूमिहरुमा जादाँ टिकट फ्रि गरिदिने तथा खर्चबापत केही रकमहरु दिने रहेछ । त्यो सूचिमा नेपाललाई पनि राख्नुपर्यो । त्यो गरेमा भारतका करौडौं कर्मचारीमध्ये १० प्रतिशत मात्रै नेपाल आए भने पनि नेपालको पर्यटन क्षेत्र र विकास पूर्वाधारले ठूलो फड्को मार्न सक्छ ।

विश्व अर्थतन्त्रमा भारतले पनि आफ्नो बलियो उपस्थिति जनाउन खोज्दै गर्दा त्यसको फाइदा नेपालले लिनका लागि भारतसंग अझै बुद्धिमताका साथ अघि बढ्नुपर्ने भएको हो ?

यो दुवैको पक्षमा लागू हुन्छ । भारतले आफूलाई पाँचौं ठूलो अर्थतन्त्रको रुपमा स्थापित गरिसकेर विश्व समुदायमा आफ्नो स्थान खोजिरहेको छ । यस्तो अवस्थामा भारतलाई घाटा हुने र असहयोग हुने कुरामा नलागेको असल छिमेकी मुलुकका नाताले नेपालको आर्थिक वृद्धिदर, नेपालीहरुको हैसियतमा वृद्धि, नेपालीहरुको उद्योग व्यवसायको बजार र स्रोतलाई भारतीय बजारमा पहुँच दिँदा यसले भारतलाई समेत फाइदा हुन्छ । नेपालको विकास भारतको अपेक्षा र चाहनासंग जोडिएकाले पनि नेपाललालाई माइनस गरेर भारतलाई फाइदा छैन ।

त्यसैले नेपालको फाइदासंग भारतको फाइदा छ भन्ने कुरालई दुवै देशले महसुस गर्नुपर्छ । साथै महसुस गरेको कुरालाई भारतले सहज रुपमा कार्यन्वयनमा ल्याउन सक्नुपर्छ । यसले युवा जनशक्तिमा तथा क्षेत्रमा जुन असमझदारी र दुई देशबीचको आर्थिक तथा भौगोलिक गतिविधिमा पनि कहिलेकाहिँ एक किसिमको तिक्कताहरु आइरहेका हुन्छन् । त्यसलाई नीतिगत र कार्यन्वयक पक्षबाट लागू गर्नुपर्छ ।

असल छिमेकी मुलुक भनेर हामी हरेक तप्का र क्षेत्रमा भाषण गर्छौं, त्यो असल छिमेकी मुलुक हो भन्ने कुरा भारतले प्रमाणित गर्नुपर्छ भने नेपालको पनि कतिपय अपेक्षाहरु छन्, जुन भारतको हितका निम्ति बाधक बन्न सक्छन् । ती कुरामा नेपालमा पनि गम्भीर हुनुपर्छ ।