काठमाडौँ– जिल्ला अदालत, काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तविरुद्वको थुनछेक फैसला ३१ जेठमा सुनाउने भएको छ । प्रकरणमा पक्राउ आरोपीहरुलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । थुनछेकको बहसका क्रममा शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भएको थियो ।
यसैक्रममा टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष पुरै एक दिनको समय मागे । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो । अर्काे साताको बुधवारका लागि सारिएको उक्त बहस मध्यान्हअघि नै सकाउन न्यायाधीश न्यौपानेले आग्रह गरेका छ ।
थुनछेक बहसका क्रममा दुवै पक्षको बहस सकिएपछि मात्रै अदालते पुर्पक्षमा पठाउने वा धरौटी अथवा सामान्य तारिकमा छाड्ने भन्नेबारेमा आदेश दिनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहित फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप लगाएतका मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौ अदालतमा मुद्दा दायर गरेको थियो ।