दिवाकर उप्रेती, काठमाडाैँ– प्लास्टिक जन्य वस्तु अन्त्यका लागि यस पटक ‘विट प्लास्टिक पाेलुसन्’ नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ । वातावरणमा परेकाे असरलाई न्यूनीकरण तथा प्लास्टिककाे प्रयाेग बन्द गर्नका लागि विभिन्न संघसंस्था लागि परेका छन् । त्यतिमात्रै हाेइन, नेपाल सरकारले २०६८ मैं  ‘प्लास्टिक झोला नियमन तथा निर्देशिका, ०६८’ पनि ल्याएकाे थियाे ।


ADVERTISEMENT


निर्देशिका आएपछि केही समय प्लास्टिकजन्य झोला उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर कमजोर नीति, उद्योगी/व्यवसायीहरूको चुनौती र प्लास्टिकको वैकल्पिक अध्ययन अभावका कारण विगतका अभियानहरू निष्प्रभावी सावित भएका थिए । जसले गर्दा प्लास्टिककाे प्रयाेग अचाक्ली रुपमा बढेकाे छ भने ‘प्लास्टिक झोला नियमन तथा निर्देशिका, ०६८’ कार्यान्वयनमा आउन सकेकाे छैन ।


ADVERTISEMENT

# # #


नेपालमा दैनिक उत्पादन हुने फोहोरमध्ये १६ प्रतिशत प्लास्टिकजन्य पदार्थ रहेको देखिन्छ । यसर्थमा यहाँ दैनिक करिब ३ टन प्लास्टिक फोहोर उत्सर्जन भइरहेको छ । यसरी उत्सर्जित प्लास्टिकको ठूलो हिस्सा वातावरणमा थुप्रिएको पाइन्छ भने केही मात्रामा ल्यान्डफिल गरिन्छ। प्रयोग गरिएका प्लास्टिकमध्ये जम्मा ९ प्रतिशत मात्र पुनः प्रयोगका लागि प्रशोधन हुने एक साइन्स जर्नलमा प्रकाशित लेखमा उल्लेख गरिएकाे छ । जर्नलमा प्रकाशित लेखका अनुसार सन् २०१९ मा मात्र विश्वभरि ३६८ मिलियन मेट्रिक टन प्लास्टिक उत्पादन भएको र जसको आधा हिस्सा एसियाली मुलुकहरूबाट मात्र भएको तथ्याङ्कमा उल्लेख छ।

सन् २०५० भित्र १२ बिलियन मेट्रिक टन प्लास्टिक उत्पादन हुने आकलन अमेरिकी अनुसन्धानकर्ताले गरेका छन्। त्यसैले प्लास्टिक महामारी एक विश्वव्यापी चुनौतीका रूपमा उदाइरहेको प्रष्ट देखिन्छ।

प्लास्टिक व्याग एक वर्षमा ५० खर्ब टन उत्पादन 

मानिसले संसारमा अत्यधिक रूपमा प्लास्टिकको प्रयोग गर्न थालेको करिव ५ दशकमात्र भएको छ । सन् १९५० को दशकमा धेरै सानो परिणाममा प्लास्टिक उत्पादन गरिएको थियो । जसलाई सजिलैसँग व्यवस्थापन पनि गर्न सकिन्थ्यो ।

प्लास्टिकका सामानहरूको उत्पादन १९९० को दशकमा आएर झन्डै ३ गुणाले वृद्धि भयो । अझ योभन्दा बढी २००० को सुरुमा मात्र विगत ४० वर्षको प्लास्टिक उत्पादनभन्दा बढी एकै दशकमा भएको पाइयो । आजको अवस्थालाई नियाल्ने हो भने संसारभर ३० करोड टन प्लास्टिक प्रतिवर्ष उत्पादन हुने गरेको छ । जुन हाल संसारमा भएका ८ अर्ब मानिसको तौल बराबर हुन आउँछ ।

यस्तै, संसारमा प्रतिदिन १० लाख प्लास्टिक बोतल (पिउने पानीको लागि प्रयोग हुने) बिक्री हुने गरेको छ । प्लास्टिक व्यागको कुरा गर्ने हो भने प्रत्येक वर्ष एकपटक प्रयोग गर्ने प्लास्टिक व्याग एक वर्षमा ५० खर्ब टन उत्पादन हुन्छ ।

अर्को एक अनुसन्धानले यो पनि देखाएको छ : १९५० को सुरुमा ८.५ खर्ब टन प्लास्टिक उत्पादन भएको थियो भने जसको ६० प्रतिशत जाने स्थान भनेको व्यवस्थित वा अव्यवस्थित ल्यान्ड फिल्ड साइट अथवा प्राकृतिक वातावरणमा नै हो । मानिसहरूको जीवनशैलीमा आएको परिवर्तनसँगै प्लास्टिकका सामानहरूको प्रचुर मात्रामा प्रयोग हुनथाल्यो । परिणामस्वरूप १९५० को दशकपछि अन्य पदार्थभन्दा प्लास्टिकको उत्पादन अत्यधिक वृद्धि भयो ।

नराेकेमा अवस्था भयावह

सरकारले ४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिक निषेधको कुरा गरिए पनि चाउचाउ, गुट्खा लगायतका खोल समेत वातावरणमा चुनौती बनेका छन् । हुन पनि अहिले सरकारको प्राथमिकता ४० माइक्रोन भन्दा कम मोटाइका झाेलामा मात्र देखिन्छ । हावाले सजिलै उडाउने र फोहोर संकलकले पनि साना–मसिना झाेला संकलन नगर्ने हुँदा फोहोर बढेको सरकारको बुझाइ छ । तर, प्लास्टिक बोतल लगायत अन्य प्लास्टिक उत्पादनले पनि निरन्तर समस्या बढाइरहेकाे छ ।

वातावरण संरक्षणमा सक्रियरुपमा लागेका कायापलटका अभियन्ता कैयुम राइन भन्छन्, ‘ सरकारले नीति बनाउँदै थन्काउने हाे भने अवस्था भयावह आउने छ । त्यस्तै मानिसलाई जनचेतना फैलाउन सक्रिय रुपमा लागेपनि वैकल्पिक रुपमा सरकारले बाटाे नखोजेमा मानिस नै प्लास्टिक हुने अवस्था आउने उनी  बताउँछन् ।

यसैगरि, युथ एड्भाेकेसी नेपालका अध्यक्ष गणेश धामीका अनुसार वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि सरकारकाे दृढता आवश्यक हुन्छ । मानिसमा सचेतना मात्रै नभएर नीतिले डाेर्याउनु पर्नेमा सरकारकाे नियत नै गलते देखिएकाे बताए ।

बढ्दाे प्लास्टिकले निम्त्याएकाे समस्याबारे अवगत भएपनि मन्त्रालय माैन देखिन्छ । प्लास्टिक जन्य प्रदूषण राेक्न लागे पनि अन्य जटिल समस्या देखिएकाे वन तथा वातावरण मन्त्रालयका प्रवक्ता तथा सहसचिव मेघनाथ काफ्लेको भनाई छ ।

उनका अनुसार प्लास्टिक झाेला अन्त्यका लागि मन्त्रालयले कार्य गरिरहेकाे बताएपनि ठाेष निर्णय अहिलेसम्म सार्वजनिक नभएकोले समस्याले झन विकराल रुप लिनेमा वातावरण संरक्षकहरु सशंकित छन् ।