काठमाडौं-हेलो सरकारले बिहीबार अपराह्न एउटा तथ्यांक टीट गर्‍यो– भद्रकाली मन्दिरअगाडि ३२ वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १५ वटा फेल भएको भेटियो । ‘औसतमा आधा गाडी फेल भएको तथ्यांक आएको हो,’ हेलो सरकारले भनेको छ, ‘आफ्ना साधनको उचित मर्मतसम्भार गर्नुहोला ।’


ADVERTISEMENT


चारपांग्रे सवारीधनीले वर्षको एकपटक प्रदूषण परीक्षण गर्नुपर्छ । तोकिएको मापदण्डमा परे मात्रै सवारीसाधनको ‘प्रदूषण पास’ हरियो स्टिकर दिइन्छ । ‘यातायात कार्यालयमा तोकिएको शुल्कका अतिरिक्त ५ सय रुपैयाँ दिए जोसुकैले हरियो स्टिकर पाउँछन्,’ यातायात स्रोतले भन्यो, ‘साँच्चै प्रदूषण परीक्षण हुन्थ्यो भने एकान्तकुनाको प्रदूषण परीक्षण गर्ने शाखामा सवारीसाधनको लाइन कहाँपुग्थ्यो होला ?’ घूसका भरमा प्रदूषण पास स्टिकर पाउने भएकाले अधिकांश प्रदूषित सवारीसाधन अहिले काठमाडौं उपत्यकाको सडकमा गुडिरहेका छन् ।


ADVERTISEMENT

# # #


साना ठूला सवारी फाँटमा ‘जाँचपास र धूवाँपास’ का लागि भाडाका सवारीसाधन कहिल्यै देखिन्नन् । ठूलो झोला बोकेका व्यक्तिहरू यातायात समितिका मानिसहरू लुरुलुरु भित्र पस्दै फुत्त बाहिर निस्किरहेका देखिन्छन् । प्रदूषण जाँचपास शाखाका कर्मचारीले सवारीसाधन नै नजाँची ५ सय रुपैयाँ लिएर प्रदूषण परीक्षण पास (हरियो स्टिकर) हातहातै बाँड्ने गरेका छन् ।

अधिकांश यातायात व्यवसायीले कामदारलाई कागजात मात्रै दिएर प्रदूषण परीक्षण गर्न पठाउने गरेका छन् । यातायात स्रोतले भन्यो, ‘कर्मचारीहरूले एक हातले ५ सय रुपैयाँ लिने र अर्को हातले हरियो स्टिकर दिने काम गरिरहेका छन् ।’ ‘धूवाँपास शाखा’ भनिने कार्यालय परिसरमा कुनै पनि सार्वजनिक सवारीसाधन भेटिँदैनन् । हरेक दिन मिलेमतोमा जाँचपासबिनै स्टिकर बाँडिएको हुन्छ ।

अटोइन्जिनियरहरूका अनुसार कागजात हेरेर मात्रै सवारीसाधनको अवस्था थाहा पाउन सम्भव हुँदैन । सवारीसाधन परीक्षण गरेर त्यसको अवस्था र धूवाँको स्तर थाहा पाउनुपर्ने प्राविधिकहरू बताउँछन् तर यातायातका कर्मचारीले सवारीसाधनबिनै प्रदूषण पास बाँडिरहेका छन् ।

अझै सार्वजनिक सवारीसाधनहरू त दिनभर प्रदूषण परीक्षण गराउन जाँदा आम्दानी गुम्ने भएकाले ५ सय रुपैयाँ घूस बुझाउन तयार हुन्छन् । स्रोतले भन्यो, ‘मिलेमतोमा संकलन हुने रकम बास्केट फन्डमा राखेर भागबन्डा हुन्छ ।’ सार्वजनिक सवारीसाधनले हरेक ६ महिना र निजीले एक वर्षमा प्रदूषण परीक्षण जाँचपास गर्नुपर्छ । जाँचका लागि हरेक सवारीसाधन यातायात कार्यालय पुर्‍याउनुपर्छ । मापदण्ड पूरा गरे मात्रै उनीहरूले हरियो स्टिकर पाउँछन् । कर्मचारीले समेत ठूलो मात्रामा रकम चलखेल गर्न पाइने भएकाले सवारीसाधनबिनै कागजमा जाँचपास र धूवाँपास गरिदिन रुचि देखाउँछन् ।

यातायात कार्यालयका कर्मचारीले हरियो स्टिकरको अवस्था हेरी ५ सयदेखि हजार रुपैयाँसम्म असुल्छन् । आफैंले सोझै रकम नबुझ्ने कर्मचारीले सेवाग्राहीसँग असुल्न सहयोगी खटाएका छन् । मापदण्डविपरीतका सवारी, पुराना र बिग्रिएकाले पनि सजिलै पासको प्रमाणपत्र पाउने गरेका छन् ।

यस्ता पुराना सवारीसाधनले प्रमाणपत्र पाउँदा ठूला दुर्घटनाको जोखिम निम्तिने गरेको छ । प्रतिस्टिकर हजारदेखि सुरु हुने मोलमोलाइ ५ सयमा झरेर टुंगिने स्रोतले बतायो । यातायात समितिहरूसँग भने एकमुष्ट मोलमोलाइ हुन्छ । ‘कुपनका आधारमा कति स्टिकर बाँडियो भनेर एकमुष्ट रकम असुल्छन्,’ यातायात कार्यालयबाट केही महिनाअघि सरुवा भएर गएका एक अधिकृतले कान्तिपुरसित भने । प्रदूषण परीक्षण शाखामा दैनिक २ सयदेखि हजारवटा सवारीसाधनको ‘कागजी जाँचपास’ हुन्छ ।