कर्णाली – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।


ADVERTISEMENT


मुख्यमन्त्री राजकुमार शर्माले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त प्रस्तावमाथि आजदेखि छलफल प्रारम्भ भएको हो ।


ADVERTISEMENT

# # #


छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रम सरकारले कुनै अध्ययनबिना नै ल्याएको बताए । उनीहरूले नीति कार्यक्रम सरकारको हो कि कुनै पार्टीको भन्दै प्रश्न गरे ।

छलफलमा भाग लिँदै नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा मिलेर जानुपर्ने अवस्था रहे पनि सरकार नै त्यो बाटोमा नरहेको जिकिर गरे । सरकारले हुनै नसक्ने क्रियाकलापलाई आफ्नो नीति कार्यक्रममा समावेश गरेको उल्लेख गर्दै उनले सरकारले समाएको बाटो गलत रहेको बताए ।

सत्ता पक्षकै सदस्य सुरेश अधिकारीले स्थानीय सरकारसँग मिलेर बैंक सञ्चालन गर्ने भनिएको भन्दै यसलाई सच्याएर जानुपर्ने बताए । उनले संविधानमा लेखिएको कुराभन्दा बाहिर गएर नीति कार्यक्रम ल्याइएको हो कि जस्तो अनुभूति भएको बताए ।

अर्का सदस्य वीरबहादुर शाहीले पनि नीति कार्यक्रममा सबै कुरा समेटिएको भए पनि यसको कार्यान्वयन महत्त्वपूर्ण पाटो रहेको बताए । सदस्य हिक्मतबहादुर विष्टले नीति तथा कार्यक्रममा सिञ्जा सभ्यतालाई माथि उठाउने कुरा गरिएकोमा स्वागत गर्दै अझै सिञ्जालाई ‘सिजनल सेन्टर’ बनाउने गरी नीतिमा समेटिनुपर्नेमा जोड दिए ।

अर्का प्रदेशसभा सदस्य तुलसा मल्लले नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्दै आलोचना गरे । सदस्यहरू घनश्याम भण्डारी, पूर्ण खत्री चालिसे, लक्ष्मी सुनार, शोसिला शाही लगायतले छलफलमा भाग लिएका थिए ।