काठमाडौँ– २५६९औँ बुद्धजयन्ती देशभर विविध कार्यक्रमका साथ श्रद्धा, भक्ति र शान्तिको सन्देशका साथ मनाइएको छ ।
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) एकै दिन – वैशाख शुक्ल पूर्णिमाका दिन परेकाले यस दिनलाई विशेष त्रिसंयोग दिवसको रूपमा मनाउने परम्परा छ ।
लुम्बिनी, स्वयम्भू, बौद्ध लगायतका प्रमुख बौद्ध स्थलमा भव्य पूजा, आराधना, प्रवचन तथा शान्तिसन्देशमूलक कार्यक्रम आयोजना भएका छन् भने चैत्य, गुम्बा, विहारमा बौद्ध धर्मगुरु र लामाले परम्परागत विधिअनुसार पूजा तथा ध्यान कार्यक्रम आयोजना गरिएको छ ।
इसापूर्व ५६३ अर्थात् २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।
दरबार त्यागेर निस्केपछि नै उहाँले बुद्धत्व प्राप्त गरेको कथन छ । तपस्याबाट प्राप्त ज्ञानपछि बुद्धत्व प्राप्त गरी उनले विश्वशान्तिका लागि अमूल्य सन्देशहरू फैलाएका थिए ।