पर्वत– पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेट्टिन्न । उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइन । हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्छन् । यसको कारण हो बाँदर धपाउन ।
लामिछाने मात्र हैन कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रहेको छ । ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउन लागेको छन् ।
वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताए । खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउने पाइने हो कि होइन भन्ने चिन्ता छ ।
आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्नुपर्ने बाध्यता परेपछि आफूसमेत महिनामा दुई दिन खेतबारी रुगेर बस्ने गरेको उनले बताए ।