काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको बताए । ‘नेपाली जनताले देखाएको बाटो सहज छ । तर, सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ । तर, हामी डराउँदैनौँ,’ उनले भने, ‘२०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर त्यो अनुमानलाई बाधा पुर्याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ ।’
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसद्मा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको ठहर छ । उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए ।
वैवाहिक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहेपनि संसद्मा नलगिकन प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए । आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताए । उनले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गए । सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि उनले जिकिर गरे ।