काठमाडौं-‘१० वर्ष अघि ओलाङ्चुङगोला हुँदै तिब्बत जाने सिमाना टिपतला नाका हिउँले ढाकेर पुरै बन्द हुन्थ्यो । मंसिरदेखि नै आवत जावत बन्द हुन्थ्यो’ ओलाङ्चुङ गोलाका स्थानीय छेतेन शेर्पा आपनो अनुभव सुनाउँछन् । तर, पछिल्ला वर्षहरुमा हिउँ पर्न छाडेको छ । पुस अन्तिमतिर पनि यो नाकामा आउजाउ गर्न सकिन्छ ।

सोमबार सदरमुकाम फुङ्लिङको तापक्रम एक डिग्री सेलसियस मापन हुँदा माथिल्ला वस्तीहरु ओलाङ्चुङगोला, घुन्सा, याङ्मा लगायतमा माइनसमा झरेको छ । कुवा र धारामा पानी जमेर सिसा जस्तै भएको छ तर, हिउँ पर्न सकेको छैन ।


ADVERTISEMENT

# # #


‘चिसो अत्याधिक बढिरहेको छ, अकाश खुल्ला हुँदा हावा चलिरहेको छ’ गोलाका छेतेन शेर्पा बताउँछन्, ‘तर, अघिल्ला वर्षहरुमा हिउँले ढपक्क ढाक्ने पहाड काला छन् ।’ स्थानीयबासीका अनुसार बाह्रै महिना हिउँले भरिने पहाडहरुमा हिउँ क्रमश घट्दै गएको छ ।

नाङ्गा डाँडा र फुङ्ग उडेको मैदान मात्र छ । कृषकहरु भने अझै हिउँ पर्छ कि भन्ने आशमा छन् । घुन्साका टासी शेर्पा भन्छन्, ‘हिउँ परेन भने खडेरी लाग्छ ।’ यो समयमा हिउँ बिनाको ओलाङ्चुङगोला र घुन्साको अर्थ हुँदैन । त्यहाँ मात्र होइन, यो वर्ष पूर्वकै प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि हिउँ परेको छैन ।

तल्लो फेदी हुँदै सुकेटारसम्म झर्ने हिउँ त परै जाओस्, यो वर्ष पुसमा बाक्लो तुसारो पनि नपरेको माथिल्लो फेदीका स्थानीय इन्द्रनारायण भट्टराईले सुनाए । हिउँ नपर्दा स्थान पिच्छे स्थानियलाई फरकफरक पीडा पनि छ । गोला, घुन्साका स्थानीयलाई बालीनाली बिग्रन्छ कि भन्ने चिन्ता छ भने पाथिभरा क्षेत्रका स्थानस्यलाई हिउँ खेल्न आउने ग्राहक नआउने हुन् कि भन्ने पिरलो छ ।

खर्कहरुमा आगलागीको जोखिम

हिउँदमा पर्ने हिउँले कृषि तथा चरन क्षेत्रलाई फाइदा पुग्छ नै, आगलागीको जोखिमलाई पनि घटाएको हुन्छ । हिमाली बस्तीमा प्राय सबै घरको छानो काठले बनाएको हुन्छ । हिउँ पर्दा सुकेको काठलाई ढपक्कै ढाकेको हुन्छ ।

आगोले काठ भेटेपनि हिउँका कारण बल्न पाउँदैन । तर, हिउँ नपरे आगलागीको जोखिम बढ्ने स्थानीय बताउँछन् । ‘हिउँ नपर्दा पानीका मुहान र धारा पनि सुक्न थालेका छन् भने चिसोले पानी जमेको छ । यस्तो समयमा आगलागी भयो भने नियन्त्रणमा दिन सकिँदैन’ ओलाङ्चुङगोलका स्थानीय छेतेन शेर्पा बताउँछन् ।

शेर्पाका अनुसार चिसो अत्याधिक बढ्दा कोही चौरी गोठसहित बेसीतर्फ र्झन थालेका छन् भने कोही अझै आलुसँग अन्न साट्न आउनेहरु पर्खिरहेका छन् । हिउँ नपरे चिस्यान पुग्दैन, त्यसैले यसपटक जौ, उवा र आलु बालीमा असर गरेको छ । यो वर्ष अन्न उत्पादनमा कमी आउने सम्भावना रहेको छेतेनको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया