काठमाडौं-मिटरमा ट्याक्सी नचलाएको भन्दै प्रहरीले १८ जना ट्याक्सी चलाकलाई पक्राउ गरेपछि पोखराका सबै ट्याक्सी चालक आन्दोलनमा उत्रिएका छन् । मंगलबार सिभिल पोशाकमा प्रहरीले ट्याक्सी चढ्दै बढी असुल्नेलाई पक्राउ परेको थियो । त्यसको विरोधमा ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । ट्याक्सी व्यवसायी समिति पोखराले यसको नेतृत्व गरेको छ ।


ADVERTISEMENT


पोखराको मुख्य चोक पृथ्वीचोकमा ट्याक्सीलाई लाम लगाएर चालकले आन्दोलन गरिरहेका छन् । चक्काजामले सर्वसाधारणले सास्ती बेहोरेका छन् । ‘सिभिल पोशाकमा आएर ट्याक्सी चालकलाई बढी भाडा लिएको भन्द्र पक्राउ गरेर अतंकित पार्ने काम गरियो,’ ट्याक्सी व्यवसायी समिति पोखरा सचिव तुलसी दाहालले भने, ‘भाडा समायोजन नगरी हामीले मिटरमा ट्याक्सी चलाउन सक्दैनौं ।’


ADVERTISEMENT

# # #


मनपरी भाडा असुलेर जनता ठग्ने काम ट्याक्सी चालकले गरेकाले पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए । ‘मनपरि भाडा लिएर जनता ठग्न पाइँदैन । उनीहरुलाई यातायात ऐनअनुसार नै कारबाही हुन्छ । जनता ठग्ने अनि आन्दोलन गर्ने गर्न पाइन्छ ?’

५–७ वर्ष पहिले तय गरिएको भाडादरमा आफूहरुले ट्याक्सी चलाउन नसक्ने सचिव दाहालको भनाइ छ । ‘मिनिबसमा चढेपछि १५ रुपैयाँ लिन्छ अनि हामीले चाहिँ ट्याक्सी चढ्नेबित्तिकै १४ रुपैयाँ लिनुपर्छ । प्रतिकिलोमिटर ३७ रुपैयाँ पर्छ । यो न्यायसंगत छैन,’ सचिव दाहालले भने ।

भाडा समायोजन गरे आफूहरुलाई मिटरमा ट्याक्सी चलाउन समस्या नहुने बताउँदै ट्याक्सी चालकलाई प्रशासकनले पटकपटक हेप्ने काम गरेको चालक अमृत गुरुङले बताए ।

प्रशासनले पक्राउ गरेका ट्याक्सी चालकलाई स–सम्मान रिहा नगरेसम्म, मिटर समायोजन गर्न राजी नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । पृथ्वीचोकमा गाडी आउजाउ गर्न नमिल्ने गरी सडकै ट्याक्सी पार्किङ गरेर उनीहरुले आन्दोलन गरिरहेका छन् ।