काठमाडौं-उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मतदाताले पार्टीलाई संसद्मा नभएर सडकमा हेर्न चाहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन परिणामा त्यही संकेत गरेको थापाले बताए ।


ADVERTISEMENT


काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा थापाले राप्रपाले संसद्मा बिउसम्म मात्रै जोगाउन सकेको बताए । ‘जनताले राप्रपालाई संसद्मा होइन, सडकमा हेर्न चाहे’ थापाले भने, ‘त्यहीअनुसार पार्टीले अब सडक केन्द्रित कार्यक्रम सञ्चालन गर्र्छ ।’ आगामी फागुनको अन्तिम साता केन्द्रीय परिषद्को बैठक बोलाएर पार्टीको कार्यनीति र आगामी योजना तय गर्ने थापाको भनाइ थियो ।


ADVERTISEMENT

# # #


निर्वाचनको परिणाम अकल्पनीय भएको भन्दै थापाले पार्टीले त्यस विषयमा समीक्षा र अनुसन्धान गरिरहेको बताए । मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण नहोस् भनेर राप्रपालाई विभाजन गरिकाले पनि निर्वाचनमा आफ्नो पार्टीको अवस्था दयनीय बनेको थापाको भनाइ थियो ।

चुनावमा सशक्त वाम गठबन्धन हुनु र वामजस्तै लोकतान्त्रिक गठबन्धन निर्माण हुन नसक्नु पनि निर्वाचनमा पराजय भोग्नुको कारण भएको थापाले बताए ।थापाले निर्वाचनको परिणामबाट आफूहरू विचलित नभएको समेत बताए ।

‘हामी विचलित भएका छैनौँ, अलग पहिचान र विचार बोकेर हिँडेका छौँ,’ थापाले भने ‘सनातन धर्म र राजसंस्थासहितको लोकतन्त्र हाम्रो मूल एजेन्डा हो, हाम्रो औचित्य अझै समाप्त भएको छैन ।’ बलियो राष्ट्रवादी शक्ति बन्न सक्ने गुण र क्षमता राप्रपासँग मात्रै भएको थापाको दाबी थियो ।

जबरा र लोहनीलाई एकतामा आउन आग्रह
अध्यक्ष थापाले सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियान थाल्न पार्टी एकताका लागि आह्वान गरेका छन् । राप्रपा फोडेर बाहिरिएका राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबरा र एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई पार्टी एकतामा आउन उनले आग्रह गरे । ‘पशुपतिजी र लोहनीजीलाई भन्छु, जुन बिन्दुबाट विभाजन गरेर जानुभयो, त्यही बिन्दुमा आएर एकता गर्न आह्वान गर्छु,’ थापाले भने ।

वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ
उपप्रधानमन्त्री थापाले नयाँ सरकार वाम गठबन्धनको नेतृत्वमा बन्नुपर्ने बताए । उनले भने, ‘जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनको लागि म्यान्डेट दिएका छन्, जनतको म्यान्डेटअनुसार वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ, एमाले अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकार गठन गर्न असफल हुनुभयो भने जनताप्रतिको ठूलो धोका हुन्छ ।’

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको एक हप्तामा नयाँ सरकार गठन हुने थापाको भनाइ छ । ‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद्ले पूर्णता पाउँछ, संसद्ले पूर्णता पाएको एक हप्ताभित्रै नयाँ सरकार गठन हुन्छ,’ थापाले भने