काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानको दोस्रो किस्ता बुझ्न तोकेको पुस मसान्तको समयसीमा परिवर्तन नहुने भएको छ । दोस्रो किस्ता प्राप्त गरिसक्नुपर्ने भनी तोकिएको अवधिमा लाभग्राहीले अनिवार्य दोस्रो किस्ताको सिफारिस लिइसक्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।


ADVERTISEMENT


‘प्रधानमन्त्रीको अध्यक्षतामा रहने प्राधिकरण निर्देशक समितिको बैठकले गरेका निर्णयलाई प्राधिकरण आफैँले थपघट गर्न सक्ने अधिकार छैन,’ उनले भने, ‘त्यसकारण तोकिएको अवधिभित्रै लाभग्राहीले दोस्रो किस्ताको कम्तीमा सिफारिस लिइसक्नुपर्छ ।’


ADVERTISEMENT

# # #


०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीका लागि दोस्रो किस्ता बुझ्ने म्याद यही पुस मसान्त तोकिएको छ । ती लाभग्राहीले ०७५ जेठसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ । ०७४ कात्तिकभित्र पहिलो किस्ता लिएका लाभग्राहीले भने ०७४ चैत मसान्तभित्र दोस्रो किस्ता र ०७५ असार मसान्तभित्र तेस्रो किस्ता बुझिसक्नुपर्छ ।

डिपिसी तहसम्म घर बनाउनेलाई दोस्रो किस्ता
प्राधिकरणका अनुसार पहिलो किस्ता बुझिसकेका र घर पुनर्निर्माण डिपिसी तहसम्म पु¥याएका लाभग्राहीले दोस्रो किस्ता प्राप्त गर्न सक्छन् । त्यसका लागि स्थानीय तहमा खटिएका प्राविधिकसँग जाँच गराई सिफारिस लिनुपर्छ ।

अशक्तको घर सरकारले बनाइदिने, स्थानीय तहसँग लगत मागियो
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अशक्त र असहाय नागरिक घरधनी भएका लाभग्राहीको लगत संकलन सुरु गरेको छ । बुधबार स्थानीय तहलाई परिपत्र गरी ७५ वर्षमाथिका वृद्धवृद्धा, ६० वर्षमाथिका एकल महिला, दृष्टिविहीनलगायत अपांगता भएका र १६ वर्षभन्दा कम उमेरका घरधनीको लगत संकलन गरी पठाउन आग्रह गरिएको प्राधिकरणका सिइओ भुसालले जानकारी दिए ।

२३ पुससम्म हाजिर नभएका प्राविधिकको जागिर गयो
प्राधिकरणले ०७४ मंसिरमा नियुक्ति लिए पनि ०७४ पुस २३ सम्म खटाइएको स्थानमा हाजिर हुन नआएका प्राविधिकको नियुक्ति खारेज गरेको छ । उनीहरूको स्थानमा वैकल्पिक सूचीमा नाम निकालेका प्राविधिकलाई खटाइएको भुसालले जानकारी दिए । निजी आवास पुनर्निर्माणमा प्राविधिक सहयोग गर्न इन्जिनियर, सबइन्जिनियर तथा असिस्टेन्ट सबइन्जिनियरहरू भूकम्प प्रभावित ३१ जिल्लाको स्थानीय तहमातहत रहने गरी खटाइएको छ ।

यसैबीच, प्राधिकरणले स्थानीय तहमा रहेका तथा भूकम्पप्रतिरोधी घर निर्माणको ज्ञान नभएका प्राविधिकलाई तालिम दिने भएको छ । सोही प्रयोजनका लागि पनि स्थानीय तहबाट त्यस्ता प्राविधिकको संख्या माग गरिएको सिइओ भुसालले बताए । आजको नयाँ पत्रिकाबाट