काठमाडौं– नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।


ADVERTISEMENT


माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा राजीनामा बुझाइएको स्वंय मन्त्री गिरिराजमणि पोख्रेललले बताए ।


ADVERTISEMENT

# # #


पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको बताए । मन्त्री पोख्रेलले भने आफूलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताए ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

के छ प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा ?

माओवादी अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरसहित बुझाइएको राजीनामा पत्रमा प्रधानमन्त्री देउवालाई सबै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिइएको छ ।

तर, सँगै केही आरोपहरु पनि प्रधानमन्त्रीलाई लगाइएको छ । पत्रमा नयाँ जनादेश अनुसार प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउने अपेक्षा राखेकोमा त्यसबारे प्रधानमन्त्रीले ठोस कदम चाल्न नसकेको उल्लेख छ ।

त्यस्तै राजश्वको दुरुपयोग, काम चलाउ भइसकेपछि पनि गर्न नमिल्ने अतिरिक्त निर्णयहरु गरेको भन्दै सरकारबाट अलग हुने निर्णय लिइएको पत्रमा उल्लेख गरिएको छ ।

माओवादीसँगै नेकपा संयुक्त पार्टीसँग सम्बद्ध मन्त्रीहरु पनि सरबारबाट बाहिरिएको छ ।