काठमाडौं-घरेलु लिग स्पेनिस ला लिगामा समेत अगाडि रहेको बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।


ADVERTISEMENT


बार्सिलोनाले शुक्रबार बिहान घरेलु मैदानमा खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी सेल्टा भिगोलाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। अघिल्लो साता सेल्टाको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा १-१ गोलको बराबरीमा रोकिएको बार्सिलोना समग्रमा ६-१ कुल गोल भिन्नताका आधारमा अगाडि बढेको हो। बार्सिलोना कोपा डेल रेको साविक विजेता पनि हो।


ADVERTISEMENT

# # #


बार्सिलोनाले हालसम्म २९ पटक कोपा डेल रेको उपाधि चुमिसकेको छ। सर्वाधिक उपाधि जित्ने क्लबको सूचीमा एथलेटिक बिल्बाओ (२३ पटक) दोस्रो स्थानमा छ।

दोस्रो लेग खेलमा बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लियोनल मेसीले दुई गोलको योगदान गरे। उनले तीन मिनेटको बीचमा लगातार दुई गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए। खेल सुरु भएको १३औं मिनेटमा पहिलो गोल गरेका मेसीले १५औं मिनेटमा दोस्रो गोल थपेका थिए।

मेसीले जारी सिजनमा गरेको गोल संख्या २२ पुगेको छ। खेलका क्रममा मेसीले अर्को एक गोलका लागि पास पनि उपलब्ध गराएका थिए। बार्सिलोनाका लागि तेस्रो गोल २८औं मिनेटमा जोर्डी अल्बाले गरेका थिए। अल्बालाई उक्त गोलका लागि मेसीले पास उपलब्ध गराएका थिए। यसैगरी ३१औं मिनेटमा लुइस स्वारेजले बार्सिलोनाको अग्रतालाई ४-० बनाएका थिए।

निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि इभान राकिटिचले अर्को गोल थप्दै बार्सिलोनाको जित अन्तरलाई फराकिलो बनाए। जितसँगै बार्सिलोनाले आफ्नो अपराजित यात्रा पनि २८ खेल पुर्‍याएको छ। भर्खरैमात्र बार्सिलोनामा आबद्ध भएका फिलिप कोउटिन्हो पनि उक्त खेल हेर्न रंगशालामा उपस्थित थिए। बार्सिलोना पछिल्लोपटक गत अगस्टमा स्पेनिस सुपर कपमा रियल म्याड्रिडसँग पराजित भएको थियो।

बार्सिलोनासँगै सेभिल पनि क्वार्टरफाइनलमा पुगेको छ। सेभिलले शुक्रबार घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा काडिजलाई २-१ गोलले हरायो। पहिलो लेगमा पनि २-० ले विजयी भएको सेभिल ४-१ कुल गोल भिन्नताका आधारमा अगाडि बढेको हो। यसैगरी स्पान्योल पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो।

स्पान्योलले दोस्रो लेग खेलमा लेभान्तेलाई उसैको मैदानमा २-० गोलले पाखा लगायो। स्पान्योल ३-२ कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो।