काठमाडौँ – शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
विद्यालय क्षेत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याव्सन, हिसान र प्याव्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पहुच, विधेयक कसले र कसका लागि बनायौं?, विेदनको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गछौं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए । गुठीमा भएका विद्यालयहरुले नै दु:ख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए ।
शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालीन विद्यालय बन्द गर्ने उनीहरुले जनाएका छन् ।