गोरखा – गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ ।


ADVERTISEMENT


विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुईदिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा सुस्मिता भण्डारीले जानकारी दिइन् । “परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो, उनले भभनिन्, “संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्छ ।”


ADVERTISEMENT

# # #


भूगर्भविद्को टोलीले टल्कने ढुङ्गाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् डा भण्डारीले जानकारी दिइन् । कडापनका आधारमा हीरा १० औँ नम्बरमा पर्ने उनको भनाइ छ । टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ । यति ठूलो तौलको भएको एउटै चट्टानका भेट्टाउनसमेत गाह्रो पर्ने भूगर्भविद् डा भण्डारीले जानकारी दिइन् ।

‘क्वार्ज क्रिष्टल’ मुख्यरुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद् डा भण्डारीको भनाइ छ । त्यस्तै रेडियो ट्रान्समिटर, कम्प्युटर, घडीलगायतका अन्य विद्युतीय उपकरणमा पनि क्वार्ज क्रिष्टलको आंशिकरुपमा प्रयोग हुने उनले जानकारी दिइन् ।

टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमूना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो ।

अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमार्फत सुझाव दिएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्यगर्ने अनुमति नलिई उत्खनन् तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमाफृत आग्रह गरिएको छ ।

गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । टल्कने ढुङ्गा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घसंस्थाले प्रशासनसँग माग गर्दै आएका छन् ।

टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा सङ्घसंस्थाको जोड छ । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयवासीको पनि भनाइ रहेको छ ।

गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले विभागको टोलीसँगको भेटमा ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले टल्कने ढुङ्गा गोरखामा राख्नका लागि नगरपालिकाले सरकारलगायतका अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नेसमेत बताएका छन् ।