काठमाडौं-तीन दशकअघि अचेलजस्तो तराईमा शितलहर चल्दैनथ्यो। न त चिसोकै कारण कसैको ज्यान जान्थ्यो । सन् १९९२ पछिका हिउँदमा भने उत्तरी भारत र नेपालको तराईमा दिनभरि घाम लाग्न छोड्यो । यो समयमा भारतका बिहार, उत्तर प्रदेश र नेपालको तराईमा धेरै उद्योग र कलकारखाना खुले। वायूमण्डल प्रदुषित भयो। त्यही प्रदुषित वायुले शितलहर चल्न थाल्यो ।


ADVERTISEMENT


मौसमिवद् मीनकुमार अर्यालका अनुसार हिउँदमा गंगा, यमुना नदीबाट आउने जलवाष्प प्रदुषित वायूमण्डलमा मिसिन्छ। जमिनको सतहदेखि झन्डै ५ सय मिटरसम्म यस्तो कुहिरो बन्छ । जमिनको तापक्रम कम र माथिको तापक्रम बढी हुने भएकाले कुहिरो माथि जानुको साटो दाँयाबाँया फैलिन्छ ।


ADVERTISEMENT

# # #


तापक्रम न्यून हुने र ठूलो मौसम प्रणाली नआउने भएकाले लामो समयसम्म कुहरी हट्दैन। शित खसेजस्तै पानी पर्ने भएकाले यसलाई शितलहर भनियो । शितलहर चल्दा दिउँसो तापक्रम स्थिर हुन्छ । यो क्रम हरेक वर्ष बढ्दो छ । यो वर्ष शीतलहर चलेको झन्डै एक महिना भइसकेको छ ।

यो अवधिमा विशेषगरी दुई नम्बर प्रदेशमा जिल्लामा दर्जनौंले ज्यान गुमाएका छन् । जाडोले विपन्न समुदायका बुढाबुढी र बालबालिका बढी प्रभावित भएका छन् । शरीरलाई आवश्यक पर्ने तापक्रम नहुँदा उनीहरुले ज्यान गुमाउनु परेको चिकित्सकहरू बताउँछन् ।

सामान्यत: मानिसको शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेट हुनुपर्छ । तापक्रम घट्दै गएपछि सबै अंगले राम्ररी काम गर्न सक्दैनन् । ३० डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रम भयो भने स्वस्थ मानिसलाई पनि गाह्रो पर्ने डा मनोजकुमार यादव(एमडी इन्टरनल मेडिसिन)ले बताए ।

‘थोरै तापक्रममा जति धेरै बेर मानिस रहन्छ उसलाई समस्या पनि त्यत्तिकै बढ्दै जान्छ,’ यादवले भने, ‘तापक्रम कम भएपछि श्वास फेर्न गाह्रो हुन्छ। रक्तसञ्चारमा समस्या हुन्छ । अनि मुटुले समेत काम गर्न छोड्छ।’

बालबालिका,बुढाबुढी र दीर्घरोगीहरुलाई मात्रै होइन शरीरको तापक्रम कम भयो भने जाडोका कारणले सामान्य मानिसको समेत मृत्यु हुन्छ । फोक्सोको समस्या भएकाहरुलाई चिसोको कारणले फोक्सोको संक्रमण बढ्दै गएर मानिसको मृत्यु हुने उनले बताए । दिउँसो पनि तात्न नपाएको शरिर राति बाक्लो ओढ्ने नभएपछि झन चिसो हुन्छ । त्यही भएर कतिपयको राति सुतेकै बेला ज्यान जाने गरेको डाक्टर यादवले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेत चिसोले मधेसमा धेरैको ज्यान जानुका पछाडि गरिबीसँगै चेतनाको कमी पनि भएको बताउँछन् । ‘म यहाँ आएको यो पहिलो हिउँद हो, अरू महिना गर्मीमा बस्ने यहाँका नागरिक खासमा चिसो आउँछ भनेर पहिला नै जोहो गर्दैनन्,’ बस्नेतले भने, ‘न्याना लुगा किन्ने, अर्को वर्षलाई राख्ने चलन पनि खासै देखिएन । कतिपय त किन्न नै नसक्ने पनि छन् ।’

अन्य रोगले ज्यान गुमाएकालाई पनि चिसोले मरेको भन्दा संख्या ठूलो देखिएको उनले बताए । ‘सप्तरीमा १७ जना मरेको खबर हामीले पनि पत्रिकामा देख्यौं तर हामीलाई प्रहरीले ५ जनाको मात्र मृत्यु चिसोले भएको रिपोर्ट दिएको छ,’ बस्नेतले भने । प्रहरीले पनि कुनै परीक्षण गरेर चिसोले नै ज्यान गएको पुष्टि गर्दैन ।

‘मृतकका आफन्तले प्रहरी चौकीमा चिसोले ज्यान गएको भनेपछि प्रहरीले लासको मुचुल्का तयार गरिदिन्छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोजे नेउपानेले भने। मौसमविद् अर्यालका अनुसार यो वर्षको शीतलहर मध्यतराईमा अझै २/४ दिन कायम रहनेछ।

‘पूर्वी र पश्चिमी क्षेत्रमा बिहान कुहिरो लागे पनि दिउँसो फाटन थालेको छ,’ अर्यालले भने, ‘ मध्य तराईमा यो क्रम अझै रहने भएकाले सो क्षेत्रमा चिसोबाट जोगिन जरूरी छ ।’ जाडोबाट जोगिन कपडा पर्याप्त लगाएर मन तातो झोल खानुपर्ने डाक्टर यादव बताउँछन् ।

‘बाबालिका बुढाबुढी र दिर्घरोगीको बढी ख्याल गर्नुपर्छ। धेरै बाहिर निस्कन हुँदैन,’ यादवले भने ।