काठमाडौँ– हेटौंडामा डाक्टरमाथि हातपात गर्ने चार जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


उपमहानगरपालिका–२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको घटनामा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले बिहिवार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुप रहेका छन् ।

हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए ।

खास भएको के हो ?

सामाजिक सञ्जालमा यतिबेला डाक्टरमाथि भएको कुटपिटको एउटा भिडियो भाइरल बनेको छ । हेटौंडा उपमहानगरपालिका-२ स्थित सन्चो अस्पतालका अनुसार उक्त भिडियो अन्तको नभई सोही अस्पतालको हो र कुटाई खाने अस्पतालमा कार्यरत चिकित्सकहरु डा विकास थापा र डा प्रशान्त विडारी हुन् ।

अस्पतालले बताए अनुसार उपचारका लागि भर्ना भएका मृतक राजेशलाई डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो। सुरूमा उनलाई साउन २२ गते सन्चो अस्पतालमै लगिएको थियो।


डाक्टरमाथि कुटपिट हुँदाको दृश्य ।

स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले बिरामीलाई आइसियूमा राखेर उपचार गर्न सुझाव दिएका थिए। तर आफन्तले वार्डमा राखेर उपचार गर्ने कुरा गरेको चिकित्सकको भनाई छ। पछि हेरचाह राम्रो हुने भन्दै बिरामीलाई एचडियूमा राखिएको थियो।

तर उपचारको पहिलो रातमै बिरामीको अवस्था थप जटिल भएपछि साउन २३ गते उनलाई चितवन मेडिकल कलेज रिफर गरिएको थियो। अन्ततः गत साउन २५ गते त्यहाँ उपचारको क्रममा मृत्यु भएको थियो ।

राजेशको मृत्य भएपछि पीडितका आफन्त भोलिपल्टै सन्चो अस्पतालमा पुगेका थिए। तर बिरामीको अवस्थाबारे जानकारी गराएपछि उनीहरू फर्किएका थिए। यसैबीच राजेशको निधनको एक महिनापछि  बुधबार मृतकका आफन्तले दुई चिकित्सकमाथि कुटपिट गरेका हुन् ।

बुधबार बिहान १० बजे हेटौंडाको सन्चो अस्पतालमा उनीहरूसहित केही व्यक्तिहरूले अस्पतालमा कार्यरत डा. थापा र डा. विडारीमाथि कुटपिट भएको हो ।   घटनाबारे पीडितले बिहीबार जाहेरी दिने तयारी गरेको छ।