काठमाडौँ – एशिया कप क्रिकेटको फाइनलमा घरेलू टोली श्रीङ्काले भारतलाई ५१ रनको चुनौती दिएको छ । भारतीय तीव्रगतिका बलर मोहम्मद सिरजले शानदार बलिङ गरेपछि श्रीलङ्का १५.२ ओभरमा सबै विकेट गुमाउँदै ५० रनमै समेटिएको हो ।
कोलम्बोस्थित आर प्रेमदशा क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको श्रीलङ्का लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए । उनले ३४ बलमा ३ चौका प्रहार गरे । यस्तै डसुन हेमन्थाले नटआउट १३ रन बनाए भने डुनिथ वेलालगेले ८ रन बनाउनुबाहे अन्यले बिर्सिनलायक ब्याटिङ गरे । श्रीलङ्काका ५ जना ब्याटर शून्य रनमा आउट भए ।
एकै ओभरमा ४ विकेट गुमाएपछि श्रीलङ्काले एकदिवसीय क्रिकेटमा आफ्नो दोस्रो सबैभन्दा कम रनको कीर्तिमान बनाएको हो । यसअघि श्रीलङ्का सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध ४३ रनमा अलआउट भएको थियो ।
भारतका सिराजले खेलको चौथो ओभरको पहिलो बलमै पथुम निस्साकालाई रवीन्द्र जडेजाबाट क्याच आउट गराएपछि श्रीलङ्काको पतन सुरु भयो । अर्को बलमा कुनै पनि रन बटुल्न नसकेको श्रीलङ्कालाई सिराजले त्यसपछि लगातार २ बलमा २ विकेट लिए भने अर्को बलमा कुनै पनि रन दिएनन् । अन्तिम बलमा अर्को विकेट हात पार्दै उनले एकै ओभरमा कुनै पनि रन नदिएर ४ विकेट चट्काएका हुन् ।
सिराजले कूल ७ ओभर बलिङ गरेर एक मेडेन राख्दै २१ रन खर्चिएर ६ विकेट लिएका हुन् । जुन उनको एकदिवसीयमा आजसम्मकै उत्केष्ट प्रदर्शन हो । यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ रन दिएर ३ विकेट चट्काए भने जस्प्रित बुम्राह बुम्राहले ५ ओभरमा एक मेडेन राख्दै २३ रन खर्चिएर १ विकेट लिए ।
भारतले जवाफी ब्याटिङ गर्दैछ ।