काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघले उठाएका मागहरु पूरा गर्न तयार रहेको बताएको छ ।
सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयक—२०८० ले शिक्षक कर्मचारी विरोधी भएको भन्दै महासंघले बुधबारदेखि विद्यालय बन्दको आह्वान गरेको छ ।
मन्त्रालयले विद्यालय बनद्को कार्यक्रम फिर्ता लिई वार्तामा आउन आग्रह पनि गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा महासंघले उठाएका माग पूरा गर्न तयार रहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरू विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् । महासंघले अघि सारेका मागहरूलाई सकारात्मक रूपमा लिई यथोचित सम्बोधन गर्न नेपाल सरकार तयार नै छ ।’