काठमाडौं-लियोनल मेसीले पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो ।


ADVERTISEMENT


स्पानियोललाई जित दिलाउन ओस्कार मेलेन्डोले निर्णायक गोल गरे । योसँगै स्पानियोलले कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।


ADVERTISEMENT

# # #


बार्सिलोना कोपा डेल रे मा गएको अगस्टपछि पहिलो पटक पराजित भएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा स्पानियोलका खेलाडीले सेर्गी रोबर्टोलाई फउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । तर ६२ औँ मिनेटमा पाएको त्यो पेनाल्टीमा मेसीले गोल गर्न सकेनन् ।

स्पानियोलका गोलरक्षक डिएगो लोपेजले मेसीको प्रहारलाई रोके । अग्रता लिने मौका गुमाएको बार्सिलोना ८८ औँ मिनेटमा गोल खान पुग्यो । खेलको अन्तिम पाँच मिनेटमा स्पानियोलका ओस्कार मेलेन्डो चम्किएपछि खेलको ८८ औँ मिनेटमा गोल गर्दै स्पानियोललाई १ – ० को महत्वपूर्ण जित दिलाए ।

यता, बार्सिलोनालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नुपर्ने भएको छ । क्वाटरफाइनलको दोस्रो लेग जनवरी २५ मा बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ । क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत राति नै भएका अरु खेलमा सेभिल्लाले एथ्लेटिको मड्रिड तथा भ्यालेन्सियाले एलाभेसलाई समान २–१ ले हराए।

एथ्लेटिको मड्रिडका लागि डिएगो कोस्टाले एक गोल गरे पनि जित दिलाउन सकेनन्। कोस्टाले एथ्लेटिकोबाट चौथो खेलमा तेस्रो गोल गरेका हुन् ।