काठमाडौँ — काठमाडौँ सुन जस्तो देखिने लिक्विड (अर्धठोस) पदार्थ २ केजी ७ सय २० ग्रामसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिलिपिन्सकी ३० वर्षीया आर्बिकोन् अरोन्स मनालाङ्ग छिन् ।
उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । उनी फ्लाइ दुबईको उडानद्वारा काठमाडौं आएकी हुन् । विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् ।
प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । ‘विमानस्थल प्रहरीको भूमिका बरामद गर्नेसम्मको हुन्छ, थप अनुसन्धानको काम भन्सार कार्यालयबाट हुन्छ’ डीआईजी चन्दले भने ।
सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलेको छैन । यसअघि २ साउनमा प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको ब्रेक शु मा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद गरेको थियो । उक्त सुन ब्रेक शुबाट निकालेर गाल्दा करिब ६१ किलो भएको पाइएको थियो ।