रुपन्देही– सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको मुद्दामा प्रहरी अनुसन्धान नै विवादमा तानिएको छ।


ADVERTISEMENT


हालै तेस्रो जाहेरीकर्ताका रूपमा सार्वजनिक भएकी पूजा न्यौपानेले आफूले रविविरुद्ध किटानी जाहेरी नदिएको स्पष्ट पार्दै प्रहरी प्रशासनले आफ्नो नाम दुरुपयोग गरेको आरोप लगाएकी छन्। यसअघि नारायण पहराई र गीता आचार्यले पनि यस्तै आरोप सार्वजनिक गरेका थिए।


ADVERTISEMENT

# # #


पूजाले सामाजिक सञ्जालमार्फत आफूले सहकारीबाट पैसा फसेपछि रकम फिर्ताको माग गर्दै सामान्य निवेदन मात्र दिएको बताएकी छिन्। उनले भनेकी छन्, ‘मैले कुनै व्यक्ति विशेषलाई उजुरी दिएकी छैन। तर रविलाई प्रतिवादी बनाएर मेरो नाम जाहेरीकर्ताको पहिलो नम्बरमा राखिएको रहेछ, जुन मलाई ढिलो थाहा भयो।’ उनका अनुसार प्रहरीले उजुरी प्रक्रियाबारे कुनै जानकारीसमेत गराएको थिएन।

हेर्नुहोस्, उनले सामाजिक सञ्जालमा राखेका पोस्ट जस्ताको तस्तै

‘म सुप्रिम सहकारीको बचतकर्ता र सहकारी पीडित हुँ । मैले आफ्नो व्यापारबाट आएको आम्दानीलाई धेरथोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिएँ । जब सहकारी डुब्यो भन्ने थाहा पाएँ, त्यसपछि धेरैपटक पैसा पाइन्छ कि भनेर सहकारी कार्यालय गएर लाइनमा बसेँ, । पछि इलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसेकाहरुले निवेदन दिनु भनेपछि मैले पनि पैसा फिर्ता पाउँ भनेर निवेदन र पासबुकको फोटोकपी लगेर बुझाएको हो ।

मैले कुनै ब्यक्ति विशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन । तर रवि लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएको रहेछ । मैले ढिला मात्रै थाहा पाएँ ।

कसैलाई उजुरी नै नदिएको मान्छेलाई उजुरीकर्ता बनाइरहँदा प्रहरीले एकपल्ट जानकारीसम्म दिएन । मैले उजुरी दिएकै हैन, पैसा फिर्ता पाउँ भनी निवेदन मात्रै दिएकी हुँ । म आज पनि भन्छु, हामीले दुख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ, तर कसैलाई राजनीतिक रूपमा प्रतिशोध गरेर फसाउन खोजिरहँदा हामी सोझा जनतालाई प्रयोग नगरियोस् ।

यसअघि नारायण पहराईले पनि “रविविरुद्ध जाहेरी दिएको हैन” भनेर प्रस्ट पारेका थिए भने गीता आचार्यले “रकम फिर्ता माग्दै दिएको निवेदनलाई रविविरुद्ध प्रयोग गरियो” भन्दै आपत्ति जनाएकी थिइन्। तीनवटै पीडितको भनाइबाट प्रहरीमाथि राजनीतिक हस्तक्षेपमा काम गरेको आरोप बलियो बन्दै गएको छ।

यसबीच, रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीले भने उजुरीकर्ताहरूको औँठाछापसहितका कागजातहरू प्रहरीसँग रहेको भन्दै यति लामो अनुसन्धानको समयमा उनीहरूले नबोलेकोमा आश्चर्य प्रकट गरेका छन्। उनले भने, ‘अनुसन्धानमा प्रहरी, अदालतमा बोलाइएको पक्कै होला। अहिलेसम्म किन बोलिएन भन्ने विषय छानबिनको विषय हो।’

जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटीमा छाडेपछि उच्च अदालतको आदेशमा उनी पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। रास्वपा नेताहरूले कागजात किर्ते गरेर मुद्दा दायर गरिएको दाबी गर्दै प्रहरी अनुसन्धानमाथि नै छुट्टै अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन्। अब घटनाको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र छानबिनको माग तीव्र हुँदै गएको छ।