काठमाडौँ – १९औँ एशियाली खेलकुद अन्तर्गत पुरुषतर्फ किकेट प्रतिस्पर्धामा क्वार्टर फाइनलका खेलहरु भोलिदेखि सुरु हुँदैछन् । पहिलो क्यार्टर फानइनल भारत र नेपालबीच हुँदैछ ।


ADVERTISEMENT


चीनको होङ्जाउस्थित झेजियांग युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुने खेल मंगलबार नेपाली समयअनुसार बिहान ६ः४५ बजेदेखि सुरु हुँदैछ । भोलिका खेललाई लिएर भारतीय क्रिकेट टोलीको कप्तान रुतुराज गाइकवाडले प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT

# # #


सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपालले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको भन्दै भोलिको खेल हेर्नलायक हुनसक्ने बताए । यद्दपि उनले आफूहरु स्वर्ण पदकका लागि चीन पुगेको र त्यही उद्देश्यका साथ मैदान उत्रिने बताए ।

उनले भने, ‘हामी एशियाली खेलकुदमा जाँदैछौँ भनेर थाहा पाएदेखि नै प्रत्येक खेलाडीहरु देशका लागि स्वर्ण पदक जित्ने लक्ष्यमा रहेका छन् ।’ यस्तै खेल हुने मैदानको स्वरुप र आकारबारे गरिएको प्रश्नमा उनले यस्ता मैदान भारतमा पनि भएको र भारतीय खेलाडीहरु त्यसमा अभ्यस्त भएको उनले उल्लेख गरे ।

यस्तै भारतीय क्रिकेट टोलीका प्रशिक्षक भीभीएस लक्ष्मणले एशियाली खेलकुदमा सहभागिता जनाउनु गर्वको कुरा भएको बताउँदै प्रतियोगिताका लागि आतुर रहेको बताए । नेपालले भारतीय क्रिकेटर युवराज सिंह र रोहित शर्माको रेकर्ड नेपाली खेलाडीले तोडेकोबारे सोधिएको प्रश्नमा उनले रेकर्ड तोडिनकै लागि बन्ने उल्लेख गरे ।

उनले भने, ‘हेर्नुहोस्, सबैलाई थाहा छ कि रेकर्ड तोडिनकै लागि बन्ने गर्छन् । युवराज सिंहले भारतीय क्रिकेट टोलीका लागि जे गरेका छन्, त्यो अद्वित्तीय छ । जुन तोडिनेवाला छैन ।’ उनले मैदानको पिचबारे त्यति जानकारी नभएको र आज बुझेर र त्यही अनुसार भोलि नेपालविरुद्ध रणनीति बनाउने बताए ।

भारतले प्रतियोगिताको पहिलो खेल खेल्दैछ भने नेपालले चीनमा भोलि तेस्रो खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको हो । यता भारत भने विश्व क्रिकेटको वरियताका आधारमा साेझै क्वार्टरफाइनलबाट प्रतियोगिताको यात्रा सुरु गर्न लागेको हो ।

पदक जित्ने लक्ष्य राखेको नेपालले भारतलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्य राखेको छ । भारतसँग पराजित भएमा भने नेपालको पदक जित्ने सपना समाप्त हुनेछ ।