बझाङ – बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा घाइते हुनेको संख्या १७ पुगेको छ । एकजना बेपत्ता रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।


ADVERTISEMENT


उनका अनुसार दुई महिलाको हातखुट्टा भाँचिएको छ । ‘केही व्यक्तिलाई अन्यत्र रिफर गरिएको छ । केहीलाई सामान्य उपचारपछि घर फर्काइएको छ । घरहरू चर्किएमा छन्, कति घर ध्वस्त भएका छन्,’ उनले भनिन् । उनका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ ।


ADVERTISEMENT

# # #


भूकम्पका कारण पहिरो जाँदा जयपृथ्वी नगरपालिका–११ ओखलीकी ४० वर्षीया गुनमति धामी बेपत्ता भएकी छन् ।

उनी मंगलबार दिउँसो टिमुर टिप्न जङ्गल गएकी थिइन् । घर नफर्किएपछि उनको खोजी भइरहेको छ । उनी टिमुर टिप्न गएको ठाउँमा पहिरो गएको छ। उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत शाहले बताए ।

उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रबिन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।