काठमाडौँ– सशस्त्र प्रहरी बलले चाडपर्व विशेष सुरक्षाका लागि नाकामा २९ हजार सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


चाडपर्व विशेष सुरक्षा योजना तयारीअनुसार सशस्त्र बलले २९ हजार एक सय ५४ जना सशस्त्र प्रहरी परिचालित गर्ने योजना गरेको हो । यसका लागि बलले दुई हजार ९२९ जना तयारी अवस्थामा राखेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्रले चीन र भारतका सीमाक्षेत्रमा एक सय २५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरिएको छ ।

कतिपय नाकामा विशेष चेकजाँच गर्न थालिएको छ । झापाको काँकडभिट्टालगायत नाकामा हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध पहिचान गर्न सक्ने तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।

आपराधिक क्रियाकलापको रोकथाम एवं नियन्त्रण गर्न गस्ती, पेट्रोल, चेक प्वाइन्ट ड्युटी खटिनुको साथै मुख्य राजमार्गमा हुन सक्ने घटना सुरक्षा योजनाअन्तर्गत पाँच सय ६३ स्थानमा पैदल गस्ती, तीन सय ६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दूरीको गस्ती) गर्ने भएको छ । त्यस्तै, दुई सय नौ स्थानमा क्युआरटी र तीन सय ७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड्युटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ हुने भएका छन् ।

त्यस्तै, उपत्यकामा पाँचवटा अनुगमन टोलीसमेत परिचालित गरिएको छ । चाडपर्वमा भारतबाट धेरै नेपाली आउने भएकाले उनीहरूलाई सहयोग गर्न विभिन्न नाकामा हेल्प डेस्कमा राखिएको र यसलाई स्थायी रूपमै सञ्चालन गरिने सशस्त्र प्रहरीको तयारी छ ।