जनकपुर – साँझ पर्नासाथ टोलका एक हुल महिला गीत गाउँदै एक ठाउँमा जम्मा हुन्छन्। धेरै वटा प्वाल पारेर बनाएका ६ वटा घैँटा बाँसका भाटाको फटीमा एउटामाथि अर्को खप्टेर एक जनाले टाउकोमा बोक्छिन्। फटीको चार कुनामा चार वटा दियो बलिरहन्छन्।


ADVERTISEMENT


बत्तीसहित घैंटाको यही आकृति झिझिया हो। झिझिया टाउकोमा बोकेर गीत गाउँदै महिलाहरू मध्यरातसम्म नाच्छन्। यही नै झिझिया नाच हो।


ADVERTISEMENT

# # #


तोहरे भरोसे ब्रह्मबाबा झिझिया बनौलिय हो।
ब्रह्मबाबा भिझियापर होइयौ न सवार।।
झिझिया नाचमा गाइने गीतहरूमध्ये उल्लिखित अंश निकै प्रचलित छ। यस गीतमा झिझियामा आउन ब्रह्मबालाई आह्वान गरिन्छ।

जनकपुरधाम उपमहानगरपालिका–७, विशालनगरकी गीता सदाको झिझिया समूह साँझ ७ बजे घरनजिकै रहेको ब्रह्मस्थान पुग्छ। त्यहाँ डिजे बाजाको गीतमा समूहमा सदस्यहरू र टोलका बासिन्दा मिलेर करिब एक घण्टा नाचगान गर्छन्। त्यसपछि समूहका सदस्यहरू गोविन्द स्थान, जानकी मन्दिर, राजदेवी मन्दिर, विशहारा थान लगायतका शक्तिपीठमा झिझिया नाच्छन्। टोलका घरदैलोमा पनि पुग्छन्। दर्शकहरूले समूहलाई नगद दान गर्छन्।

झिझिया नाच दसैंको घटस्थापनामा सुरू हुन्छ र नवरात्रभर चल्छ।

झिझिया नाचले तराई मधेसका सहर बजार र गाउँमा रौनक बढेको छ। साँझ पर्नासाथ जनकपुरधामका चोकचोकमा झिझिया गीतमा महिलाहरू रमाउँछन्। गीत र नाचमा दर्शकहरू पनि रमाउँछन्। गीता आफ्नो समूहका सदस्यका साथ विगत ३७ वर्षदेखि लगातार झिझिया नाच्दै छिन्। उनी अरूलाई झिझिया नाच्न पनि सिकाउँछिन्। गीताको समूहका चार जना महिला पालैपालो झिझिया बोक्छन्। समूहमा मुसहरी टोलका दुई जना पुरूषसहित जम्मा २० जना छन्।

झिझिया नाच गरेपछि मानव बस्तीमा भूतप्रेत आउँदैनन् र कतैबाट आएको छ भने भाग्छ भन्ने जनविश्वास छ।

‘झिझिया खेल्दा बालबच्चा सुरक्षित हुन्छन्। हामीमाथि महारानीजीको आशीर्वाद लाग्छ। परिवारमा कसैको पनि बिगार हुँदैन,’ टोली नेता गीता भन्छिन्, ‘झिझियामा देवीमाता सवार हुन्छ। देवीमाताले सबैको भलो गर्नुहुन्छ।’

संस्कृतिविद् परमेश्वर कापरिका अनुसार दसैंमा दुई वटा शक्तिको प्रभाव हुन्छ– आश्रेय शक्ति र आसुरी शक्ति। आश्रेय शक्तिले सकारात्मकता र आरोग्य दिन्छ। असुरी शक्ति विध्वंसात्मक हुन्छ।

त्यही आसुरी शक्तिमाथि जित हासिल गर्न मिथिलामा तान्त्रिक र लोक पद्धति अपनाउने परम्परा छ। झिझियामा तान्त्रिक र लोक दुबै पद्धति हुन्छन्।

कापरि भन्छन्, ‘झिझियामा मन्त्र र लोकगीत हुन्छ। गीत र नाचमार्फत् भगवती र ब्रह्मलाई गुहार लगाइन्छ। दुुर्गादेवीलाई जगाएर सिद्धी प्राप्त गरिन्छ।’

दसैं र छठमा विभिन्न संघ संस्थाहरूले शुल्क तिरेर झिझिया समूह बोलाउँछन्। कुनै विशेष अवसरमा पनि झिझिया नाच हुन्छ। गीताका अनुसार उनको समूह झिझिया नाच्न तराईका अनेक ठाउँ र काठमाडौंसम्म पुगेको छ।

झिझिया समूहकी एक सदस्य फुलवा सदाका अनुसार घटस्थापनाको एक साताअघि तयारी सुरू हुन्छ। सबैभन्दा पहिले कुमालेलाई प्वालैप्वाल भएका घैँटा बनाउन लगाइन्छ। घैँटाका प्वाल गन्नु हुँदैन भन्ने विश्वास रहिआएको छ। प्वाल गन्दा तत्कालै कुनै अनिष्ट हुन्छ भन्ने मानिन्छ।

घटस्थापनाको चार दिनअघि दुई वटा बाँस किनेर सुकाइन्छ। त्यसलाई चिरेर फटा बनाइन्छ। घटस्थापनाको एक दिनअघि समूहका सदस्यहरू जम्मा हुन्छन्। सबै तयारी पूरा गर्छन्।

घटस्थापनाका दिन जनकपुरधामका सबै शक्तिपीठहरूमा सलामी चढाइन्छ। गीताको समूहका निर्देशक शम्भु सदा भन्छन्, ‘सलामी चढाएपछि महारानीको शक्तिले क्षेत्र बाँधिन्छ। त्यसपछि कुनै पनि नकारात्मक शक्तिले काम गर्दैन।’

उनका अनुसार ढोलक, झ्याली लगायतका परम्परागत बाजा बजाएर झिझिया नाच हुने गरेकोमा केही वर्षयता डिजे बाजाको प्रयोग बढेको छ। आधुनिक बाजाको प्रयोगले संस्कृतिमा असर परेको छ।

शम्भु भन्छन्, ‘डिजेको फेसन चलेको छ। यसो गर्दा झिझिया नाच नै नमिल्ने भएको छ।’

झिझिया नाच मुसहर समुदायबाट सुरू भएको हो। नाच्नेमा मुसहर समुदायकै धेरै हुने भए पनि सबै समुदायमा झिझिया हुन्छ।

यसरी सबै समुदायमा फैलिनु राम्रो भए पनि कलाकारले आधुनिक बाजा बजाएर भिडिओ बनाउन थालेपछि झिझिया संस्कृतिमा असर परेको उनको भनाइ छ।

विशालपुरका बासिन्दा मंगल सदाका अनुसार झिझिया नाच्ने चलन घट्दै गएको छ।

हालसम्म दलित र मुसहर समुदायले यो संस्कृति जोगाएका छन्। मुसहर समुदायमा सानै उमेरमा बालबालिकालाई झिझिया गीत र नाच सिकाउने चलन छ।

पुराना शास्त्र पढ्ने चलन घट्दै गएपछि झिझिया पराम्परा पनि लोप हुने क्रममा रहेको संस्कृतिविद् कापरिको बुझाइ छ।

‘झिझिया तन्त्रमन्त्रमा आधारित योगीनी नाच हो। सरकारले तन्त्रमन्त्र झुट हो भन्छ। यसकारणले पनि मानिसहरू हतोत्साहित भएका छन्,’ उनी भन्छन्, ‘अहिले त पैसा उठाउने माध्यम पनि भएको छ। यस्ता कारणले आस्था घट्दै छ।’

समूहका सदस्यहरू विकृति हटाउँदै झिझिया परम्परा कायम राख्नुपर्ने र विस्तार गर्दै अघि बढ्नुपर्ने ठान्छन्।