काठमाडौँ – नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्वकप क्रिकेट खेलेको थियो । विश्वकपमा खेलेपछि नेपालमा क्रिकेटप्रति आकर्षण ह्वात्तै बढ्यो । अभिभावकले आफ्नो बालबालिकालाई क्रिकेट सिकाउन थाले, क्रिकेट सिकिरहेकाहरु खेलप्रति अझ प्रतिवद्ध भए ।


ADVERTISEMENT


त्यसमध्येका एक हुन् रोहित पौडेल । नेपालले पहिलो पटक विश्वकप खेल्दा रोहित करिब १२ वर्षका थिए । नेपाललाई विश्वकपमा देखेपछि नै क्रिकेट खेल्न आकर्षित भएका उनै रोहित अहिले नेपाली क्रिकेट टोलीको कप्तान छन् र नेपाललाई पुनः विश्वकपमा पुर्याउने महत्वपूर्ण अभिभारा आफ्नो काँधमा बोकेका छन् ।


ADVERTISEMENT

# # #


किनकी सन् २०१४ पछि करिब साढे ९ वर्षमा टी–२० विश्वकपका ३ वटा संस्करण भए पनि नेपाल कुनै संस्करणमा पनि छनोट असफल रह्यो । अर्को संस्करण आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुँदैछ र नेपालले यसपटक भने पुनः विश्वकपमा स्थान बनाउने सुनौलो मौका जुरेको छ । त्यसका लागि नेपालले टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्दैछ । जुन सोमबारदेखि काठमाडौँमा सुरु हुनेछ ।

घरेलू मैदान र दर्शकको फाइदा लिँदै नेपालले यसपटक विश्वकप छनोटको उपाधि जित्ने लक्ष्य राखेको छ । प्रतियोगिता सुरु हुनुअघि आइतबार आयोजित पत्रकारसम्मेलनमा बोल्दै नेपाली कप्तान र राष्ट्रिय टीमका मुख्य प्रशिक्षकले विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफूहरु उत्साहित रहेको बताएका छन् ।

कप्तान रोहितले नेपालको एकमात्र लक्ष्य अर्को वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनु रहेको बताए । पछिल्लो समय नेपालले राम्रो क्रिकेट खेलिरहेको र घरेलू मैदान र दर्शकको फाइदा समेत भएकाले विश्वकपमा छनोट हुन सहज हुने उनको विश्वास छ ।

प्रतियोगितालाई लिएर सबै खेलाडी उत्साहित रहेको बताउँदै उनले थपे, ‘२०१४ को विश्वकपमा नेपाललाई हेरेर नै क्रिकेट खेल्न प्रेरित भएका धेरै खेलाडी अहिलेको टिममा छन् । त्यही विश्वकपको उत्साहलाई लिएर हामी यो विश्वकप छनोट खेल्दैछौँ । जसरी पनि विश्वकपमा छनोट हुने सबै खेलाडीको लक्ष्य छ ।’

यस्तै सन्दीपको लामिछानेको पुनरागमनले राष्ट्रिय क्रिकेट टोली सन्तुलित भएको र विश्वकपमा छनोट हुने सम्भावनालाई थप बलियो बनाएको प्रतिक्रिया दिए । उनले भने, ‘सन्दीप दाई आएपछि टिमको सन्तुलन राम्रो हुन्छ । टी-२० मा झन् अनुभवी बलर हुन् । हाम्रो बलिङ पक्ष पनि अझ बलियो हुनेछ ।’

नेपालको बलियो पक्ष ब्याटिङ रहने उल्लेख गर्दै उनले यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई अबको खेलमा दोहरिन नदिने जनाए । ‘त्रिकोणात्मक सिरिजका फाइनललाई छोड्ने हो भने हामी गएका ६–७ महिनादेखि राम्रो ब्याटिङ गरिरहेका छौँ । त्यसलाई निरन्तरता दिनुपर्छ ।’ उनले भने, ‘पहिले के भयो अब त्यो गइसक्यो, आउने खेलमा के गर्ने भन्ने कुरा हाम्रो नियन्त्रणमा छ ।’

यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक प्रशिक्षक मोन्टी देसाईले नेपालले केही समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरु सुधार गर्दै अघि बढेको बताए । उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने जानकारी दिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगितामा एशियाका ८ देशले प्रतिस्पर्धा गर्दैछन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ र नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ सिंगापुर, ओमान र मलेसिया छन् । यस्तै समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

छनोटको पहिलो खेलमा नेपालले सोमबार सिंगापुरसँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुँदैछ ।  नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्न पाउनेछन् ।