काठमाडौं-नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैँका लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सिमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ । नेपाल-भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५ सय ५३ सिमा स्तम्भ रहनेछन् । यीमध्ये करिब ६ हजार ६ सय ३ सीमा स्तम्भ दुवै देशको सहमतिमा निर्माण गरिसकिएको छ ।


ADVERTISEMENT


‘नेपाल–भारत सीमामा रहने कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भमध्ये ६ हजार ६ सय ३ वटा निर्माण भइसकेको छ । अब २ हजारभन्दा बढी सीमा स्तम्भ निर्माण गर्न बाँकी छ,’ नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले भने, ‘हामीले आगामी ५ वर्षभित्र यी सबै सीमा स्तम्भ निर्माण गर्ने लक्ष्य लिएका छौं ।’


ADVERTISEMENT

# # #


यसैअनुरुप कार्य अघि बढेको छ। सन् १८१६ को सुगौली सन्धि, सोही वर्षको पूरक सन्धि, सन् १८६० र १८७५ लगायतका सन्धि सम्झौताका आधारमा नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा निर्धारण गरिएको छ । यसरी निर्धारित सीमालाई विभिन्न चरणमा तयार गरिएका सीमा नक्सामा उल्लेख गरिएको र विभिन्न स्थानमा सीमा स्तम्भ स्थापना गर्दै आइएको छ ।

‘पछिल्लो तीन वर्षमा ६ सय ३ वटा सीमा स्तम्भ निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यसै अनुभवका आधारमा बाँकी सीमा स्तम्भ निर्माण गर्न ५ वर्षको समयावधि राखिएको हो,’ भट्टले भने । सिमालाई लिएर दुई देशबीच विवाद उत्पन्न भएपछि सन्१९८० मा नेपाल भारतले संयुक्त प्राविधिक समिति (जेटिसी) गठन गरेका थिए ।-आजको नागरिक दैनिकबाट