काठमाठौँ – सिप्रदीले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को संयुक्त प्रयासमा कार्तिक २६ गते जिल्ला प्रसासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रू. ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको हो ।


ADVERTISEMENT


तिहारमा लक्ष्मी पूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु (त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाको अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाट झन्डै १,२०० घर परिवारका ४,८०० जना भूकम्प पिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।


ADVERTISEMENT

# # #


राहत वितरणपछि सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले भने, “अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरेका छौं र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग पुराउने नै छौं ।”

आठविसकोट, रुकुमका नगर प्रमुख रबि केसीले नगरपालिकाका जनताको लागि सिप्रदी सहायता संस्थाले गरेको खाद्यान्न, जिन्सी र औषधि लगायतका सामग्रीको सहयोगप्रति आभार व्यक्त गरे । उनले भने, “यो सहयोगले यस प्रकोपले दुःखमा परेका नगरबासीलाई राहत मिलेको छ ।”

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट्स सँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनःर्निमार्ण र हस्तान्तरण गरेको थियो ।