काठमाडौं-देशकै प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा गिरावट आएको छ । क्लिंकर आयातमा देखिएको समस्यालगायत कारणले राजस्व संकलनमा कमी आएको हो ।


ADVERTISEMENT


चालू आवको पहिलो ६ महिनामा भारत तथा तेस्रो मुलुकबाट आयात भएका मालसामानबाट वीरगन्ज भन्सार कार्यालयले ६० अर्ब ५० करोड २३ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा झन्डै ३ प्रतिशतले कम हो । भन्सार विभागले पुस महिनासम्मका लागि ६२ अर्ब १२ करोड ५ लाख १६ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।


ADVERTISEMENT

# # #


जाडो अत्यधिक हुने महिनामा व्यापार घट्ने हुनाले कारोबारमा कमी आउने भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत सन्तोष यादवले बताए । ‘पुस र माघमा अत्यधिक चिसो हुने हुँदा कारोबार नै कम हुन्छ, सोही कारण अन्य महिनाको तुलनामा कम नै राजस्व संकलन हुन्छ,’ उनले भने, ‘त्यसमाथि यो महिनामा क्लिंकर आयात हुन सकेन, त्यसले पनि लक्ष्य भेट्टाउन सकिएन ।’

पुस महिनामा लक्ष्यभन्दा १३ प्रतिशत कम
चालू आर्थिक वर्षको पुस महिनामा लक्ष्यअनुसारको राजस्व असुल्न विभाग असफल भएको छ । विभागले चालू आर्थिक वर्षको पुस महिनामा कार्यालयलाई १० अर्ब ७५ करोड १३ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर, कार्यालयले भारत तथा तेस्रो मुलुकबाट भएको आयातबाट ९ अर्ब ४० करोड ३८ लाख ४५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ८७.४७ प्रतिशत मात्रै हुन आउँछ ।