काठमाडौं-अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइनको प्रारम्भिक रुट सर्वे सकिएको छ । उक्त अध्ययनले भारतबाट आउने तेलको पाइपलाइन चितवनसम्मै ल्याउन सकिने देखाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी)ले यससम्बन्धि अध्ययन गरेका हुन् ।


ADVERTISEMENT


भारतबाट अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने तयारी भइरहेको छ । त्यसलाई चितवनसम्म विस्तार गर्न आईओसीले नै इच्छा देखाएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन् । रुट सर्वेबाट केही स्थानमा प्राविधिक जटिलता हुने देखाएको छ । तर, त्यो ठूलो चुनौतीका रुपमा नदेखिएको भट्टराई बताउँछन् ।


ADVERTISEMENT

# # #


प्रस्ताव अनुसार काम अगाडि बढे अमलेखगञ्जबाट चितवनसम्म ५९ किलोमिटर पाइपलाइन थपिनेछ । हाल भारत मोतीहारीदेखि अमलेखगञ्जसम्म ३७ किलोमिटर पाइप बिछ्याउन लागिएको छ । ‘हेटौंडा बजारलगायत केही क्षेत्रमा समस्या हुने देखिएको छ । तर, पूर्वपश्चिम राजमार्गको रुटमै आधारित भएर अध्ययन गरेका छौं,’ भट्टराई भन्छन्, ‘पाइपलाइन चितवनसम्म ल्याउन सकिने अवस्था देखियो ।’

सात अर्ब लागत अनुमान

प्रस्तावअनुसार चितवनको लोथर बजार नजिकसम्म पाइपलाइन आउनेछ । त्यहाँ निगमले नयाँ भण्डारणस्थल निर्माणका लागि जग्गा खरिद गरेको छ । तर, खरिदमा अनियमितता भएको विवाद कायमै छ । उक्त स्थान मकवानपुर र चितवनको सिमाना हो । निगमले चितवनमा आधुनिक तेल डिपो बनाउन र त्यहाँसम्म पाइपलाइन ल्याउन सात अर्ब खर्च लाग्ने आनुमन गरेको छ । सरकारीस्तरमा सहमति भए सम्भाव्यता अध्ययन शुरु हुनेछ ।

ग्यासपाइप बिछ्याउन पनि सम्भव

रुट सर्वेबाट ग्यास पाइपलाइन पनि बिछ्याउन सकिने देखाएको छ । दुवै पाइपलाइन सँगसँगै बिछ्याउन सकिने देखिएको छ ।

‘चितवनमा तेलसँगै ग्यासको डिपो पनि राख्न आईओसीका अधिकारीहरु उत्साहित छन्,’ भट्टराई भन्छन्, ‘त्यसो भयो भने तेल र ग्यास पाइपलाइबीच राख्ने दूरी तीन मिटर फरक पारेर एकैपटक बिछ्याउन सकिन्छ ।’ पछि बिछ्याउँदा पाँच मिटर अन्तर कायम गर्नुपर्ने र सडकमा आवागमनमा पनि समस्या ल्याउने उनी बताउँछन् ।

नेपालले गत चैतमै मोतीहारीबाट अमलेखगञ्जसम्म बिछ्याइने पाइपलाइनलाई चितवनसम्म ल्याउन भारतसँग प्रस्ताव गरेको थियो । पाँच वर्षे इन्धन आपूर्ति सम्झौताका लागि भारत गएका बेला तत्कालीन मन्त्री दीपक बोहराले भारतीय समकक्षी धर्मेन्द्र प्रधानसँग त्यसबारे प्रस्ताव गरेका थिए ।

प्रदेश–३ लक्षित आयोजना

पेट्रोलियम र ग्यास पाइपलाइन चितवनसम्म आउँदा काठमाडौंसहित पहाडी जिल्लामा ढुवानी र वितरण सहज हुने निगमको विश्वास छ । निगमका एक अधिकारीको भनाइमा अमलेखगञ्ज डिपोले प्रदेश–२ को आपूर्ति सहज गर्छ । ‘काठमाडौंका लागि चितवनमै इन्धन भण्डारण गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसबाट प्रदेश–३ को आपूर्ति व्यवस्था सहज हुनेछ ।’

उक्त पाइपलाइन योजना कार्यान्वयनमा आउँदा राज्यको ढुवानी भाडा ह्वात्तै घट्नेछ भने उपभोक्तालाई पनि राहत मिल्नेछ ।