काठमाडौँ – रुसी सेनामा भर्ना हुन गएका करिब १ सय जना नेपाली नागरिक हराएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । वर्तमान सरकारको एक वर्ष पुगेको अवसरमा रासससँग कुराकानी गर्दै परराष्ट्रमन्त्री डा. एनपी साउदले रुसी सेनामा गएका नेपालीहरुमध्ये १ सय जना हराएको उजुरी परेको बताएका छन् ।


ADVERTISEMENT


उनले रुसमा हराइरहेको र घाएते भएका नेपालीहरुका आफन्त र साथीभाईमार्फत मन्त्रालयमा उजुरी परेको बताए । उनले भने, ‘रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरुका परिवार र साथीभाइले खबर गरेका छन् ।’ यो सङ्ख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने अनुमान गरिएको उनले बताए ।


ADVERTISEMENT

# # #


यसबारे स्पष्ट रुपमा बुझ्न नेपालस्थित रुसी राजदूतलाई मन्त्रालय बोलाएर छलफल गरेको र मस्को (रुस)स्थित नेपाली राजदूतावासलाई पनि आवश्यक निर्देशन दिएको परराष्ट्रमन्त्री साउदले बताए । ‘यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरु रुसी सरकारसम्म पुर्याउनका लागि स्पष्ट सन्देश दिएका छौँ ।’ उनले भने, ‘मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।’

यस्तै रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)को प्रबन्ध समेत गरिएको उनले बताए । उनले भने, ‘दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका ६ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएका छौँ । यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएका छौँ ।’

सरकारका तर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी नराखेको र कुनै कारणवस अप्ठ्यारोमा परेर नेपाली दूतावासमा पुगेकाको उद्धार गरेको बताउँदै उनले राजदस्तावासमा आएका नेपालीलाई नेपाल फिर्ता गरिएको बताए ।

उनका अनुसार करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको सरकारको आशंका छ ।

यससँगै युक्रेनमा बन्दी बनाइकाका हकमा समेत युक्रेन सरकारसँग सम्पर्क भइरहेको उनले बताए । परराष्ट्रमन्त्री साउदले भने, ‘युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहनुभएको छ । दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ ।’ अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरिएको र त्यसको परिणाम चाँडै आउँला भन्नेमा आफू विश्वस्त रहेको मन्त्री साउदको भनाई छ ।