काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरुद्धको नाबालिका बलात्कारसम्बन्धी मुद्दा सुनुवाई आज हुने भएको छ । लामिछानेको मुद्दाको अन्तिम सुनुवाईका लागि बुधवार जिल्ला अदालत काठमाडौँमा पेशी तोकिए पनि सुनुवाई नसकिएपछि समय अभावका कारण न्यायाधीश शिशिरराज ढकालको इजलासले हेर्दाहेर्दमा राखेको थियो ।


ADVERTISEMENT


सन्दीपविरुद्धको मुद्दामा गत आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा सुनुवाई भइरहेको छ । हिजो निवेदकका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि आइतबार पनि सरकारी वकिलका तर्फबाट सुविर परियार र सिताराम अर्यालले बहस गरेका थिए । यस्तै निवेदकका तर्फबाट अधिवक्ता आस्मा आचार्यले पनि बहस गरेकी थिइन् । सन्दीपका वकिलहरुले भने बहस गर्न बाँकी नै रहेको छ । उनीहरुको बहस र जवाफी सवाल–जवाफपछि मुद्दाको आदेश हुने छ ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले सन्दीपविरुद्ध २०७९ भदौ २१ गते गौशालामा उजुरी दिएकी थिइन् । उनले सन्दीपले आफूलाई भदौ ७ गते गौशालाको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको दाबी गरेकी थिइन् ।

आरोपपछि पक्राउ परेका सन्दीपलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले धरौटीमा रिहा गरेको थियो । साथै सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश समेत जाने अनुमति दिएको थियो ।

लामो समयदेखि जिल्ला अदालत काठमाडौँमा यो मुद्दा विचारधीन भएको छ ।