काठमाडौं-राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ४ बाट मनोनयन दर्ता गराएका स्याङजाका रामबहादुर थापाको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ ।


ADVERTISEMENT


अपाङता भएका व्यक्तिको कोटामा एमालेबाट उम्मेदवारी दिएका थापाले परिचयपत्र नविकरण नगरेको खुलेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार तनहुँका प्रकाश पन्थले थापाविरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको पोखरामा उजुरी दिएका थिए । अपांगता परिचय पत्र पुरानो भएकाले मान्यता दिन नहुने भन्दै पन्थले थापाको उम्मेदवारी बदरको माग गरेका थिए ।

उजुरी परेपछि थापाले सोही परिचयपत्रका आधारमा अहिलेसम्म राज्यका निकायबाट पाईने सुविधा लिएको, नयाँ निर्देशिका अनुसार नयाँ कार्डका लागि प्रक्रियामा रहेकाले ढिलाई भएको भन्दै सफाई पाउनुपर्ने दलीलसहित कागजात पेश गरेका थिए ।

राष्ट्रिय सभा निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजे देखि १ बजे सम्म मनोनयन दर्ता गराएका उम्मेदवारको सूची सार्वजनिक गरिनेछ । त्यस्तै आज १ देखि भोली २ बजे सम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि समय दिइने आयोगको कार्यतालिका छ ।

भोली ३ देखि ४ बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरी अपराह्न ४ देखि ५ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने प्रवक्ता ढकालले बताएका छन् । राष्ट्रिय सभा निर्वाचन आगामी २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।