दमौली (तनहुँ) – मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन् । उक्त गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन गरिरहेका हुन् ।


ADVERTISEMENT


शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा उक्त विद्यालयका विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको हो । गाउँपालिकाकै संयोजनमा विगत केही वर्षदेखि अत्यधिक चिसो हुने समयमा विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।


ADVERTISEMENT

# # #


कक्षा–८ मा अध्ययनरत छिरिङ पाल्तेन चिसोका कारण मुस्ताङमा पठनपाठनमा समस्या हुने गरेको बताए । मुस्ताङमा अत्यधिक चिसो हुने र चिसोका समयमा हातका औँला कठ्याङ्ग्रिने भएकाले लेख्न पनि समस्या हुँदै आएको बताउँदै उनले तिब्बतीयन क्याम्पको घुम्ती विद्यालयमा पठनपाठन गर्न सहज भएको बताए । उनले भने, “अत्यधिक चिसोले औँला कठ्याङ्ग्रिएर लेख्नै सकिँदैन । यहाँ सजिलो भएको छ । तनहुँ आएर योग पनि गरिरहेको छु ।”

चिसोको तीन महिना विद्यार्थीलाई तनहुँ ल्याएर अध्ययन गराउने व्यवस्था मिलाइएको शिक्षक रोशन गुरुङले जानकारी दिए । उनले भने, “त्यो समयमा विद्यार्थी यता नल्याउने हो भने विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ । विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या पर्छ ।” चिसो छल्न पहाड झर्दा हिमाली जिल्लाका बालबालिकालाई यहाँको वातावरण बुझ्ने अवसर मिलेको उनको भनाइ छ ।

पुसदेखि फागुनसम्म उक्त ठाउँमा अत्यधिक चिसो हुने भएकाले विद्यार्थीको भविष्य बिग्रन नदिने उद्देश्यले गाउँपालिकाले नै अध्ययनको व्यवस्था मिलाएको छ । उनले भने, “चिसोले यहाँको तापक्रम माइनस डिग्रीसम्म पुग्छ, त्यसबेला त्यहाँ बस्नै सकिँदैन । उक्त समयमा यहाँका विद्यार्थीलाई शुक्लागण्डकीमा ल्याएर पढ्ने व्यवस्था मिलाइएको छ ।”

विद्यार्थीलाई पढाईसँगै योगसमेत सिकाइएको छ । प्रत्येक बिहान एक घण्टा योग अभ्यास गराउन थालिएको छ । उक्त गाउँपालिकामा फागुनदेखि चैत मसान्तसम्म बिदा हुने र वैशाखदेखि पुनःविद्यार्थी आ–आफ्नो विद्यालयमा नै अध्ययन गर्छन् । विद्यार्थीलाई पढाउन शिक्षकहरु पनि मुस्ताङबाट नै आएका छन् । रासस