काठमाडौं-दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो ।


ADVERTISEMENT


स्रोतका अनुसार राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए । शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ड्राइभरलाई आग्रह गरेकी थिइन् । ट्याक्सीका चालकले युवतीको अनुरोधपछि उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुर्‍याइदिएका थिए ।


ADVERTISEMENT

# # #


‘मलाई केटाहरुले ५ सय रुपैयाँ थमाई ठेगाना दिएर पुऱ्याइदिनू भने । ट्याक्सीमा बसेपछि ती युवती रुन–कराउन थालिन्,’ टेलिफोन सम्पर्कमा आएका ती चालकले भने, ‘उनले नजिकैको प्रहरी कार्यालयमा पुर्‍याइदिन अनुरोध गरिन् । उनी आत्तिएकी थिइन् । भक्कानिँदै रोएपछि मैले प्रहरी चौकीमा छाडिदिएँ । त्यसपछि के भयो, मलाई थाहा भएन ।’

स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेपछि युवतीले प्रहरीसामु आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । घटना सुनेलगत्तै कमलपोखरी वृत्तका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्न महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्‍याए । स्रोतका अनुसार दरबारमार्ग वृत्तका प्रहरीले शुक्रबार बिहान होटलसम्म पुगेर घटनास्थलको अवलोकन गरेका थिए । युवतीसहित बसेको कोठामा मदिराका बोतल थिए ।

युवतीले आफू पुराना कुरा सम्झिन नचाहने र ठूलो मानसिक तनाबमा रहेको बताइन् । उनले यति मात्रै भनिन्, ‘मैले दिएको लिखित निवेदन दर्ता भएन ।’ कमलपोखरी वृत्तका एक प्रहरीका अनुसार प्रहरी टोली होटल पुग्दा चारै जना केटा त्यहाँ थिएनन् । प्रहरीले ४ मध्ये चक्रपथ क्षेत्रमा बस्ने २ जनाको नाम पहिचान गरेको थियो भने १ जना मंगोलियन अनुहार र झट्ट हेर्दा प्रहरीजस्तै हुलियाको रहेको भन्ने सूचना मात्रै पाएको थियो ।

घटनाको ४ दिनपछि सोमबार मात्रै प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे जानकारी पाएको थियो । उच्च स्रोतका अनुसार बालाजु प्रहरी वृत्तमा दरबन्दी भई दरबारमार्ग वृत्तमा काम गरिरहेका लक्ष्मणसिंह ठकुरी उक्त घटनालाई दर्ता गर्नभन्दा ‘मिलाउन’ तिर लागेको छ । स्रोतका अनुसार घटना सार्वजनिक भए सामाजिक अवगाल आइपर्ने र मुद्दामामिलाको झन्झट ब्यहोर्नुपर्ने भन्दै मोटो रकमको आश्वासन दिइएको थियो ।

युवतीलाई २० लाख रुपैयाँ बराबरको पसल खोलिदिने र ३० लाख नगदै दिने सर्तमा कुरा थामथुम पारिएको थियो । त्यसमा प्रहरीलाई पनि ‘राम्रै लाभ हुने’ सहमति भएको स्रोतले बतायो । स्रोतका अनुसार उच्च शक्तिकेन्द्रको पारिवारिक सदस्य रहेका एक युवकको पहुँचका भरमा दरबारमार्ग वृत्तले घटना गुपचुप राखेको थियो । घटनाबारे वृत्तले तालुकदार निकाय प्रहरी परिसरलाई कुनै जानकारी दिएको थिएन । वृत्तका डिएसपी तिलक भारतीले त्यस्तो कुनै घटनाबारे आफूहरुकहाँ कुनै उजुरी नपरेको बताए ।

उनले आफू ३ दिनदेखि बिदामा रहेको बताए । उनका अनुसार घटनाको कुरा सुनेपछि प्रहरी होटलसम्म गएको हो । तर उक्त घटनाबारे युवतीले कुनै लिखित उजुरी दिइनन् । उनले भने, ‘खै के भयो थाहा भएन । उनीहरु आफैं–आफैं मिले होलान् । कसरी मिले भन्ने पनि थाहा भएन ।’

उनले युवती दरबारमार्ग वृत्तसम्मै नआएको समेत दाबी गरे । तर कमलपोखरी वृत्तका एक प्रहरीका अनुसार युवतीलाई प्रहरीले नै दरबारमार्ग वृत्तको जिम्मा लगाएर फर्केको थियो । डिएसपी भारतीले यो घटनाबारे प्रहरी परिसर, काठमाडौंले छानबिन सुरु गरेकोबारे पनि आफूलाई थाहा नभएको बताए । मिलेमतोको यो घटना थामथुम पारिएको र पैसाको चलखेल भएको भन्ने सूचनाका आधारमा प्रहरी परिसर, काठमाडौंले अनुसन्धान समिति गठन गरेको हो ।

घटनामा दरबारमार्ग वृत्तको शंकास्पद भूमिका देखिएको भन्दै एसपी जोशीको नेतृत्वमा गठित समितिमा डिएसपीत्रय बेलबहादुर पाण्डे, शिखर खनाल र बसन्त रजौरे तथा इन्स्पेक्टर अनिल अधिकारी सदस्य छन् ।परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले घटना गम्भीर प्रकृतिको रहेकाले गम्भिर रुपले छानबिन थालिएको बताए । उनले भने, ‘घटना किन गुपचुप राखियो र यसका पछाडि के रहस्य थियो भनेर अनुसन्धानपछि विस्तृतमा थाहा लाग्नेछ ।’-आजको कान्तिपुरबाट