काठमाडौं-राजश्व अनुसन्धान मध्य क्षेत्रीय इकाइ कार्यालय पथलैयाले सोमबार वीरगन्जको दुई वटा सुनचाँदी पसलमा छापा मारेको छ । छापा मारेको विरोधमा वीरगन्जका सुनचाँदी व्यापारी पसल बन्द गरेर बिरोधमा उत्रिएका छन् ।


ADVERTISEMENT


बाराको पथलैयास्थित इकाइ कार्यालयबाट अनुसन्धान अधीकृत भीम देवकोटा र तेजमणि काफ्लेको नेतृत्वमा आएको टोलीले वीरगन्जको माइस्थानमा रहेको ओम ज्वेलर्स र लिंकरोडमा रहेको बालाजी ज्वेलर्समा छापामारे पछि वीरगन्जका सुनचाँदी व्यवसायीहरु पसल बन्दका थिए ।


ADVERTISEMENT

# # #


नेपाल सुन चाँदी व्यवसायी महासंघ पर्साका अनुसार वीरगन्ज महानगरमा मात्रै २ सय ५० बढी सुनचाँदी पसल सञ्चालनमा छन् । राजश्व अनुसन्धान मध्य क्षेत्रीय इकाइ कार्यालयबाट खटिएको दुई छुट्टा छुट्टै टोलीले एकै पटक दुवै पसलमा छापा मारेको थियो ।

ओम ज्वलेर्समा दर्जनौं संख्यामा सशस्त्र प्रहरीसहित पुगेको टोली पसल भित्र छिर्ने वित्तिकै छेउछाउमा रहेका अन्य सुनचाँदी पसलेहरुले होहल्ला गर्दै अवरोध पुर्‍याएपछि उक्त टोली फर्किएको थियो । त्यहाँबाट सिधै लिंक रोडमा रहेको बालाजी ज्वलेर्समा टोली पुगेको थियो । त्यहाँ पहिल्यै पुगेका अनुसन्धान अधिकृत देवकोटा नेतृत्वको टोलीलाई पनि व्यवसायीले अवरोध गरेपछि रित्तै फर्किएका थियो ।

त्यसको आधा घण्टा पछि जिल्ला प्रहरी कार्यालय पर्साबाट थप सुरक्षाकर्मी लिएर बालाजी ज्वेलर्समा छिरेको टोलीले खानतलाशी गर्दा कुनै पनि कागजात भेटिएको थिएन । अनुसन्धान अधिकृत देवकोटाले पसलको कारोबार गरिएको कागजपत्र नदिए बल प्रयोग गर्ने धम्की दिएपछि पसलका सञ्चालक रतन सर्राफले छिकेकीको घरको शौचालयमा लुकाएर राखेको दुई बोरा कागजात टोलीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै टोलीले पसलमा प्रयोग हुने दुई थान ल्यापटप पनि नियन्त्रणमा लिएको छ । राजश्व अनुसन्धानको टोलीले ओम ज्वलेर्समा पुगेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ । ओम र बालाजी ज्वेलर्सले राजश्व छलि गरेको गोप्य सूचना आएपछि छापा मारेर कारोबार गरिएको आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अनुसन्धान अधिकृत देवकोटाले बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ पर्साका महासचिव परवेज सर्राफले महासंघलाई जानकारी नै नदिइ गुण्डागर्दी शैलीमा आएर राजश्व र सशस्त्र प्रहरीको टोलीले पसलमा छापा मारेको आरोप लगाए । सुनचाँदी व्यवसायी महासंघलाई पूर्व जानकारी गराएर महासंघकै प्रतिनिधिको रोहबरमा मात्रै राजश्व अनुसन्धानको टोलीले पसलमा छापा मार्नुपर्ने भए पनि महासंघलाई कुनै जानकारी नदिइकनै छापा मारेको उनको आरोप छ ।

अनुसन्धान अधिकृत देवकोटाले भने राजश्व छलेर कारोबार गरेको सूचनाको आधारमा दुवै पसलमा कानुनी तरिकाले छापामार्न खोज्दा व्यापारीले अवरोध गरेपछि थप प्रहरी मगाएर छापा मारिएको बताए ।