काठमाडौँ– समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।


ADVERTISEMENT


यसअघि मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका थिए । मोर्चाको चार–चार महिनामा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । उनले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताए ।


ADVERTISEMENT

# # #


मोर्चाले गरेको कमीकमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने सहमति भएको उनले जनाए । अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने पनि महासचिव गुरुङको भनाई छ । मोर्चा जति गतिशिल र प्रभावकारी बनाउनुपर्ने हो त्यो हुन नसकिरहेको भन्दै आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रूपमा अघि बढाउनपर्छ भन्नेबारे छलफल भएको उनँले उल्लेख गरे ।

माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।