चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् ।


ADVERTISEMENT


घुमौँ भरतपुर भन्ने नाराका साथ गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार चितवनमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए ।


ADVERTISEMENT

# # #


भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा सुधार भएको उनको भनाई छ । नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६ दशमलव ९ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताए ।

उनले भ्रमण वर्ष कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उनको भनाइ छ । उनले गठबन्धनभित्र कुनै समस्या नरहेको भन्दै एकढिक्का भएर अघि बढ्ने जिकिर गरे ।

त्यस्तै एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर मानव र जंगली जनावरको गजबको मेल र अलि अलि संघर्ष समेत भएको ठाउँ भएको बताए । आफूले पानी जहाजको कुरा गर्दा सुरुमा मानिसहरूले कुरा नबुझेका बताउँदै ओलीले अहिले कम्तीमा नारायणी नदीमा स्टिमर चल्न लागेका भन्दै खुसी व्यक्त गरे । ओलीले भरतपुर भ्रमण वर्षलाई चितवन भ्रमण वर्षको रूपमा अघि बढाउनु पर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले विकासका लागि सडक पूर्वाधार मात्र नभई अन्य सूचकसमेत उत्कृष्ट हुनुपर्ने भन्दै त्यसमा भरतपुरले ध्यान दिएको बताए । जनताले दिएको सल्लाह र आलोचनाले सही बाटोमा हिँड्न प्रेरित गर्ने भन्दै राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई जनताले नै दण्डित गर्ने बताए ।

त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछाने लगाएतले विकास र पर्यटकीय सम्भावनाले भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय थलो बनाउन सकिने धारणा राखेका थिए । उदघाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने ¥याली र झाँकीले बजार परिक्रमा गरेको थियो । पर्यटन विस्तारका लागि भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष–२०२४ आयोजना गरेको हो । भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य राखेको महानगरले जनाएको छ । भ्रमण वर्ष अवधिभर विभिन्न ५१ वटा कार्यक्रमहरु सञ्चालन हुने बताइएको छ ।