काठमाडौ–राजधानीको दरबारमार्गस्थित एक होटलमा भएको सामूहिक बलात्कार काण्डबारे राष्ट्रिय मानवअघिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


आयोगकी प्रवक्ता मोहना अन्सारीले बुधबार एक विज्ञप्ति जारी गर्दै यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको उजुरी दर्ता, छानविन र तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडितहरू न्यायबाट वञ्चित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छिन् ।


ADVERTISEMENT

# # #


सामूहिक बलात्कारको घटना समेतलाई सामाजिक वा पारिवारीक डर, धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलापमा टुंग्याइएको प्रति चासो व्यक्त गर्दै आयोगको विज्ञप्तिमा भनिएको छ– बलात्कार जस्तो गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनाहरूको सम्बन्धमा नेपाल प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गर्ने, उजुरी दर्ता भएपनि घटनाहरूको अनुसन्धान प्रभावकारी नहुने जस्तो कारणबाट घटनालाई कमजोर बनाउने, यस्ता प्रकृतिका घटनाबाट मृत्यु भएको अवस्थामा हत्याको अपराधमा मात्र मुद्दा चलाउने तथा न्यायमा ढिलाइ गरिने प्रवृत्तिका कारण यौनजन्य हिंसाबाट पीडित महिलाहरू न्यायबाट वञ्चित हुन पुगेको पाइएको छ ।

नागरिकको मानव अधिकारको रक्षार्थ स्थापना भएका निकायबाटै यस प्रकारका कार्यहरू हुनु दुखद भएको भन्दै आयोगले यो मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुन विपरित रहेकोप्रति सचेत गराएको छ ।

आयोगले घटनाको सम्बन्धमा आजै एक अनुसन्धान टोली गठन गरी कार्य शुरू गरेको पनि जनाएको छ ।

यौनजन्य हिंसा तथा बलात्कारका घटनासँग सम्बन्धित उजुरीहरूको दर्ता, छानविन तथा तथ्य संकलन कार्यलाई प्रभावकारी बनाई नागरिकको मानव अधिकारको सम्मान र रक्षा गर्न एवं हिंसा पीडित नागरिकको न्यायमा पहुँच पुर्याउन आयोगले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ ।