काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले शुक्रबार मनाईने महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।


ADVERTISEMENT


महाशिवरात्रीको पूर्वसन्ध्यामा बुधबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । अहिलेसम्म पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट , भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी पुरा भएको कोषले जनाएको छ ।


ADVERTISEMENT

# # #


शिवरात्री पर्वलाई विशेष रुपमा मनाउनकालागि कोष संचालक परिषदका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा महाशिवरात्री पर्व व्यवस्था मूल समिति २०८० गठन गरी समितिमार्फत बिभिन्न ८ वटा उपसमिति गठन गरिएको कोषका सदस्य सचिव राजु कुमार खत्रीले जानकारी दिए । पर्वलाई थप व्यवस्थित बनाउन ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरी सम्पन्न गर्ने कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनको व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको सदस्य सचिव खत्रीले बताए ।

यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारहरूलाई सजावट गरिएको छ भने बिहीबारदेखि पशुपतिनाथको भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाइने कोषले जनाएको छ । महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाका जनशक्ति परिचालन गरी व्यवस्थित गर्ने तयारी गरेको कोषका सदस्यसचिव खत्रीले बताए ।

कोषले यसपटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अपेक्षा गरेको छ ।